१८ आश्विन २०८१, शुक्रबार

जेटीकप क्रिकेट : पादसदीप, सनराइज र ब्राइट फ्यूचर विजयी



बौनिया । कैलालीको सडकपुर बौनियामा जारी जेटीकप क्रिकेट प्रतियोगिताको सोमबार भएका खेलमा पानसदीप, सनराइज र ब्राइट फ्यूचर स्कूल विजयी भएका छन् ।
सोमबारको पहिलो खेलमा पानसदीपले वसन्तमुरारी विद्यालयलाई सात विकेटले हरायो ।
टस हारेर पहिले ब्याटिङका लागि निम्त्याइएको बसन्तमुरारी १४ औं ओरमा ६४ रनमा अलआउट भयो । बसन्तमुरारीको ब्याटिङ पारीमा यमु साउँदले बनाएको १८ रन नै व्यक्तिगत उच्चस्कोर थियो ।
वसन्तमुरारीको ब्याटिङ पारी तहसनहस गर्ने क्रममा पानसदीपका दीपेश ओलीले तीन ओभरमा २२ रन खर्चिदै ह्याटिक सहित पाँच विकेट लिए । त्यस्तै, पानसदीपका गौरव बिसीले दुई ओभरमा जम्मा तीन रन दिएर दुई विकेट लिए ।
६५ रनको सामान्य विजय लक्ष्य पाएको पानसदीपले १२ औं ओभरमा तीन विकेट क्षतिमा पुरा गर्‍यो । पानसदीपका भूपेश बस्नेतले २३ रन बनाए । खेलको म्यान अफ द म्याच पानसदीपका दिपेश बने ।
सोमबारको अर्को खेलमा सनराइजले नातालाई चार विकेटले पराजित गर्‍यो । सो खेलमा सनराइजले टस जित्यो र नातालाई ब्याटिङका लागि निम्त्यायो । शुरुदेखि नै सम्हालिन नसकेको नाता टिम ११.५ ओभरमा ५२ रनमा अलआउट भयो ।
नातालाई झिनो रनस्कोरमा समेट्न प्रमुख भूमिका निर्वाह गरेका सनराइजका तुषार मल्लले चार विकेट लिए भने विवेक सुनारले तीन विकेट झारे ।
सामान्य विजय लक्ष्य पाएको भए पनि सनराइजको ब्याटिङ पारी संघर्षपूर्ण रह्यो । एकपछि अर्को गर्दै छ विकेट गुमाएको सनराइजले १२ ओभरमा लक्ष्य प्राप्त गरेको थियो । सो खेलका म्यान अफद द म्याच समेत बनेका सनराइजका विवेक सुनारले अविजित ३० रन बनाए ।
बलिङतर्फ नाताका डेबिटराज गिरीले तीन ओभरमा आठ रन दिएर दुई विकेट लिए ।
सोमबारको अन्तिम खेलमा ब्राइटफ्युचरले शम्भुनाथ टिममाथि एक सय तीन रनको विजय दर्ता गर्‍यो ।
ब्राईटफ्युचरले टस जितेर पहिले पहिले ब्याटिङ गर्दै निर्धारित १५ ओभरको खेलमा सात विकेट क्षतिमा एक सय ५६ रनको विशाल स्कोर बनायो । ब्राईटका रमेश बुढाले बिस्फोटक ब्याटिङ गर्दै २० बलमा एक छक्का र छ चौका हिर्काउँदै ३९ रन बनाए । त्यस्तै, विशाल रोकायाले १६ बलमा छ चौका सहित ३४ रन बनाए ।
प्रतिउत्तरमा शम्भुनाथ ५४ रनमा अलआउट भयो ।
प्रतियोगितामा कैलालीका विभिन्न स्थानका गरी १६ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको बिजेताले ६१ हजार तथा उपविजेताले ३१ हजार रुपैया पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार