६ पुष २०८१, शनिबार

निष्ट एलपीएल : सरस्वती मावि र लिटिल बुद्ध एकेडेमी विजयी



धनगढी । धनगढीमा जारी निष्ट लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) अन्तर्गत बिहीबारको खेलमा कैलाली गेटाको सरस्वती मावि तथा कञ्चनपुरको लिटिल बुद्ध एकेडेमी विजयी भएका छन् ।
बिहीबारको पहिलो खेलमा सरस्वती माविले भक्तपुर निस्टलाई छ विकेटले पराजित गर्‍यो । पहिले ब्याटिङ गर्दै भक्तपुर निस्टले दिएको एक सय सात रनको विजयी लक्ष्य सरस्वतीले १९ बल बाँकी छदै चार विकेट क्षतिमा प्राप्त गर्‍यो । सरस्वती माविका कप्तान आयुव चन्दले अविजित ४१ रन बनाए भने अरुण महराले २४, हृदय बिडारिले १८ तथा आशिष पनेरूले १० रन बनाएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भक्तपुर निस्ट स्कुलले १९ दशमलव तीन ओभरमा एक सय छ रनमा अलआउट भएको थियो ।
सो खेलको म्यान अफ द म्याच सरस्वतीको आयुव चन्द भए ।
बिहीबारको अर्को खेलमा लिटिल बुद्ध एकेडेमी कञ्चनपुरले एबिसी आवासीय स्कूल नेपालगञ्जलाई ९६ रनको फराकिलो अन्तरले पराजित गर्‍यो ।
लिटिल बुद्धका कप्तान सन्दीप जोरा ब्याटिङ र बलिङ दुवैमा चम्किएपछि एबिसी आवासीय स्कुल फराकिलो अन्तरले पराजित भयो ।
पहिले ब्याटिङ गरेको लिटिल बुद्ध एकेडेमीले दुई सय एक रनको विशाल रनस्कोर खडा गर्‍यो । प्रतिउत्तरमा एबिसी आवासीय स्कुल नेपालगञ्ज १४ दशमलव चार ओभरमा एक सय पाँच रनमा अलआउट भयो । एबिसीमाथि ९६ रन अन्तरले हराउने क्रममा लिटिल बुद्धका हेमन्त कार्किले चार विकेट लिए भने रोचक ऐरले दुई तथा पारस क्षेत्री र सन्दीप जोराले एक/एक विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लिटिल बुद्ध एकेडेमीका सन्दीप र सुशील खड्काले आकर्षक अर्धशतकीय पारी खेलेपछि तीन विकेट क्षतिमा २० ओभरमा दुई सय एक रनको स्कोर बनाएको थियो । कप्तान सन्दीपले अविजित ८३ रन बनाए भने सुशीलले ४४ बलमा ५४ रन बनाए । त्यस्तै, कमल सिंह ऐरीले १६ बलमा अविजित ३२ रन बनाए । खेलको म्यान अफ द म्याच लिटिल बुद्धका सन्दीप बने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार