एम्बुलेन्सको ठक्करबाट बालक घाइते
धनगढी । डोटीको दिपायल–सिलगढी नगरपालिका वडा नम्बर ४, पिपल्लामा मंगलबार एम्बुलेन्सको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय दिपायलले दिएको जानकारी अनुसार पिपल्लामा रहेको शैलेश्वरी अस्पतालको से १ च १९७८ नम्बरको एम्बुलेन्सको ठक्करबाट सोही अस्पतालका निर्देशक आइजंग कुँवरका आठ वर्षीय छोरा इशान कुँवर गम्भीर घाइते भएका छन् ।
एम्बुलेन्सको ठक्करबाट घाइते बालक इशानलाई उपचारका लागि धनगढी रिफर गरिएको जनाइएको छ ।
एम्बुलेन्स ब्याक गर्ने क्रममा इशानलाई ठक्कर दिएको प्रत्यक्षदर्शीहरूले बताए । एम्बुलेन्सको ठक्करबाट बालकको टाउकोमा गम्भीर चोट लागेको छ । ठक्कर दिने एम्बुलेन्स तथा चालकलाई इलाका प्रहरी कार्यालय दिपायलले नियन्त्रणमा लिएको छ ।




