प्रेस युनियनको जिल्ला अधिवेशन
धनगढी । नेपाल प्रेस युनियन कैलालीको पाँचौ अधिवेशन आइतबार शुरु भएको छ । अधिवेशनको एक समारोहबीच नेपाली काँग्रेस केन्द्रीय सदस्य नारायणप्रसाद साउँदले उद्घाटन गरे ।
सो अवसरमा केन्द्रीय सदस्य साउँदले नेपाली काँग्रेसको सशक्त प्रतिपक्षी भूमिका निर्वाह गर्नुको साटो आन्तरिक किचलोमा अल्मलिएको चर्चा गरे ।
“हामी अहिले प्रतिपक्षीको भूमिकामा छौं । हामीले सत्तापक्षका हरेक काममा ध्यान दिनुपर्ने हो” काँग्रेस नेता साउँदले भने– “तर, हामी पार्टीभित्रको अन्तरविरोधमा अल्मलिएका छौं ।”
केन्द्रीय सदस्य साउँदले जिल्ला तह भन्दा पनि केन्द्र बाहिरमा गुट उपगुटको बहस चलिरहेको चर्चा गरे । “अहिलेको महंगी, बढ्दो कर, हत्याहिंसा लगायतका कारण सबै जनता समस्यामा रहेका छन्” उनले यस्तो समयमा जनताले प्रतिपक्षीको भूमिका बलियो हुनुपर्ने आवाज उठाइरहेको बताए । नेता साउँदले बाम गठबन्धनले स्थिर र समृद्धि मुलुकको नारा दिएर चुनाव जिते पनि त्यसको विपरित काम गरिरहेको आरोप लगाए ।
“स्थिरता पार्टी भित्रै चुनौति बनेको छ भने अहिले किनेर खाने वर्गहरूको लागि जीवन ओरालो तिर लगाएर समृद्धि सम्भव छैन्” उनले भने “वर्तमान सरकारले अहिलेको अवस्थामा कसै अरूलाई दोषी देखाएर उन्मुक्ति पाउन सक्दैन् ।”
कार्यक्रममा नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता रणबहादुर रावलले संविधान जारी भएपनि कार्यान्वयन गराउनेमा वर्तमान सरकारले ध्यान दिन नसकेको बताए । उनले वर्तमान सरकारले सञ्चार जगत र प्रमुख प्रतिपक्षी दललाई कमजोर बनाउने खेलमा लागेको आरोप लगाए ।
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले सञ्चारकर्मीले राम्रा पक्षलाई जनताका अगाडि ल्याउन र नराम्रा पक्षमा खबरदारी गर्नुपर्ने सुझाव दिए ।
नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले वर्तमान सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास गरेको बताउँदै “सञ्चारमाध्यमलाइ व्यवसायिकतातर्फ अघि बढाउनमा सरकारले ध्यान दिन जरुरी छ ।” उनले प्रेस कमजोर भएमा नागरिकको स्वतन्त्रता, आवाज पनि कमजोर हुने बताए । उनले सञ्चारकर्मीलाई निष्पक्ष, तथ्य र सत्य समाचार केन्द्रीत हुन आग्रह गरे ।
नेपाल प्रेस युनियनका अध्यक्ष टेकराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस कैलाली सभापति नरनारायण शाह मनु, नेपाल प्रेस युनियन केन्द्रीय उपाध्यक्ष वाला अधिकारी, महासचिव अजयबाबु शिवाकोटी, न्यूनतमा पारिश्रमिक समितिका सदस्य गंगाधर पाण्डे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
प्रेस युनियनका सेती अञ्चल इञ्चार्ज जगत साउँदले स्वागत गरेको कार्यक्रमको सञ्चालन वरिष्ठ उपाध्यक्ष भीम चौधरीले सञ्चालन गरेका थिए ।




