१२ बैशाख २०८२, शुक्रबार

चाडबाडमा प्रहरीको विशेष अभियान : देउसीभैलो खेल्ने समय निर्धारण, पटाका नियन्त्रणका लागि गस्ती



धनगढी । प्रहरीले तिहारका बेला शान्ति सुरक्षा बलियो बनाउन विशेष अपरेशन चलाएको छ । चाडबाडका बेला हुनसक्ने झैझगडा, कुटपिट सहित अपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरीले विशेष गस्ती टोली परिचालन गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, कैलालीले शान्ति सुरक्षालाई दृष्टिगत गरी तिहार अवधिभरी देउसीभैलो खेल्ने समय निर्धारण गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरक्षिक हरिप्रसाद वलीका अनुसार राति १० बजेपछि देउसीभैलो खेल्न रोक लगाइएको छ । देउसीभैलोको नाममा हुनसक्ने कुनै पनि किसिमको गलत कार्य रोक्न प्रहरीले विशेष टोली पनि परिचालन गरेको जनाइएको छ ।
प्रहरी नायव उपरीक्षक वलीले अबेर रातिसम्म देउसीभैलो खेल्दा अरूलाई बाधा हुने तथा कतिपय अवस्थामा झैझगडा बढ्ने र अपराधिक घटना हुनसक्ने भएकाले राति १० बजेपछि देउसीभैलो खेल्न रोक लगाइएको बताए ।
कैलाली प्रहरीले तिहारमा पटाका, भुइचम्फा लगायतका अति प्रज्ज्वलशील तथा विष्फोटक वस्तुको प्रयोग नगर्न पनि आग्रह गरेको छ । “यस्ता प्रकारका पटाका, भुइचम्फा सहितका विष्फोटक पदार्थका कारण भौतिक तथा मानवीय क्षति निम्त्याउन सक्छ” कैलाली प्रहरीले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ– “तिहारको समयमा दियो, मैनवत्ती, पालाहरू बाल्ने एवं विद्युतीय उपकरणहरू बालिने भएकाले विशेष सजग रहन आम नागरिकमा आग्रह गरिएको छ ।”
जिल्ला प्रहरी प्रवक्ता वलीले प्रहरीले भुइचम्फा, पटाका लगायतका विष्फोटक तथा अति प्रज्ज्वलशील पदार्थको प्रयोगमा निरुत्साहित गर्न नेपाल–भारत सीमानाकामा गस्ती बढाइएको बताए ।
त्यस्तै, कैलाली प्रहरीले जुवातास नखेल्न तथा मादक पदार्थ सेवन लगायतका क्रियाकलाप नगर्न पनि आग्रह गरेको छ ।
प्रहरीले मदिरा सहितका लागू पदार्थ सेवन गरी देउसीभैलो खेल्ने तथा सवारी साधन चलाउने प्रवृत्ति निरुत्साहित गर्न पनि सक्रियता बढाएको छ । ट्राफिक प्रहरीले तिहारको अवधिमा सामान्य भन्दा बढी मापसे चेकजाँच हुने बताए ।
कैलाली प्रहरीले दशैं अघि बनाएको चाडपर्व लक्षित सुरक्षा योजनालाई पनि यथावत राखेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार