उपमहानगरपालिकाद्वारा दिपावली तथा छठ मिलन कार्यक्रम
धनगढी । धनगढी उपमहानगरपालिकाको आयोजनामा सोमबार धनगढीमा दिपावली तथा छठ मिलन कार्यक्रम भएको छ ।
तिहार तथा छठ पर्वको पूर्व सन्ध्यामा आयोजित कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख र अन्य पदाधिकारी तथा स्थानीय सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
सो अवसरमा दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त गर्दै उपहानगरपालिका प्रमुख नृपबहादुर वडले उपमहानगरपालिका हरेक गतिविधिहरूको निगरानी गरिदिन सञ्चारकर्मीहरूलाई आग्रह गरे । उनले भने– “हामीले बजार क्षेत्रमा मात्रै होइन, हरेक वडा र टोलमा विकास निर्माणका थुपै्र काम गरेका छौं, तपाईंहरूबाट हामीले निष्पक्ष ढंगको अनुगमन तथा रचनात्मक सल्लाहसुझावको अपेक्षा गरेका छौं ।”
कार्यक्रममा शुभकामना दिँदै उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टले संघीयता नौलो व्यवस्था भएकाले जनप्रतिनिधि र कर्मचारीहरू सिक्दै अगाडि बढिरहेको बताइन् । उनले मिडियाको साथ र सहयोगबाट धनगढीलाई समृद्ध नगर बनाउन सकिने बताइन् ।
सो अवसरमा नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष अर्जुन शाह, महासंघका पूर्व केन्द्रीय उपसभापति उमिद बागचन्द, कैलालीका अध्यक्ष जगत साउँद, डब्लुडब्लुजेका कैलाली अध्यक्ष उन्नती चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।