वर्तमान सरकार पाँच वर्ष टिक्दैन– नेता बलायर
धनगढी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले कम्युनिष्टहरूको वर्तमान सरकार पाँच वर्ष नटिक्ने दावी गरेका छन् ।
नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर ५ ले दिपावली तथा छठ पर्वका अवसरमा सोमबार धनगढीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेता बलायरले दुई तिहाई बहुमतको सरकारका गलत क्रियाकलाप तथा निर्णयका कारण स्वयं जनता नै सडकमा ओर्लिएर वर्तमान सरकार ढाल्ने दावी गरे ।
उनले नेकपाको नेतृत्वमा रहेको स्थानीय सरकार तथा प्रदेश सरकारमा अहिले संस्थागत भष्टाचार अचाक्ली बढेको आरोप लगाए ।
एक अर्काे प्रसंगमा नेता बलायरले कञ्चनपुरका बालिका निर्मला पन्तको बलात्कार र हत्याराको नेकपा तथा सरकारले नै संरक्षण गरिरहेको आरोप लगाए । उनले भने– “प्रधानमन्त्री केपी ओलीबाट स्वयं नै ‘निर्मलाका बलात्कारी तथा हत्यारा पत्ता लगाउन १२ वर्ष पनि लाग्न सक्छ’ भन्नुको आसय यही नै हो ।”
उनले सुदूरपश्चिम प्रदेश सरकार पनि बालिका निर्मलाका हत्यारा पत्ता लगाउने विषयमा गम्भीर नभएको आरोप लगाए । उनले भने– “एउटी छोरीको बलात्कारपछि हत्या हुन्छ, तर प्रदेश तथा संघीय सरकार अपराधी पक्राउ गर्नुको साटो संरक्षण गर्न जुट्छ ।”
शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाहले वर्तमान सरकार अधिनायकवादको बाटोमा अगाडि बढेकोले लोकतन्त्रको रक्षाका लागि काँग्रेस एकजुट हुनुको विकल्प नरहेको चर्चा गरे ।
कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य नारायण भट्ट लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर ५ का सभापति हरिश खड्काको अध्यक्षतामा भएको थियो ।