पीपीएलमा धनगढी ब्लुजको तेस्रो जीत
धनगढी । कप्तान दीपन्द्रसिंह ऐरीको धुँवाधार ब्याटिङसँगै एक्सपर्ट धनगढी ब्लुजले पोखरामा जारी पोखरा प्रिमियर लीग (पीपीएल) मा तेस्रो जीत दर्ता गरेको छ ।
मध्यक्रम केही लडखडाएको अवस्थामा दीपेन्द्रले २६ बलमा चार छक्का र चार चौका प्रहार गर्दै अविजित ४९ रन बनाएपछि धनगढी ब्लुजले शुक्रबारको खेलमा पोखरा पल्टनलाई दुई विकेटले पराजित गर्यो ।
पोखरा पल्टनले दिएको एक सय ४५ रनको विजय लक्ष्यसहित ब्याटिङ गर्न क्रिजमा उत्रिएको धनगढी ब्लुजले एक बल बाँकी छदै लक्ष्य पुरा गर्यो ।
धनगढी ब्लुजलाई अन्तिम ओभरमा जीतका लागि १५ रन चाहिएको अवस्थामा दीपेन्द्रले पोखरा पल्टनका बलर महबुब आलमलाई हायलकायल पार्दै १६ रन प्रहार गरे ।
धनगढीको पारीमा पिटर ट्रेगोको ५३ रनको अर्धशतक र सुविन्दु पाण्डेयको २२ रन निकै महत्त्वपूर्ण रह्यो ।
रोमाञ्चक खेलमा पोखरा पल्टनका रसिद खानले चार ओभरमा २४ रन खर्चेर धनगढी ब्लुजका चार विकेट लिए भने ललित राजवंशी र विक्रम भुसालले दुई/दुई विकेट लिएका थिए ।
यसअघि टस जितेको पोखरा पल्टनले पहिले ब्याटिङ गर्दै २० ओभरमा आठ विकेट क्षतिमा एक सय ४४ रन बनाएको थियो ।
पोखराका रोहितकुमार पौडेलले ३१ रन, रवि इन्दर सिंहले २८, आसिफ शेखले २३, कप्तान शरद भेषवाकरले १४, र राशिद खानले १५ रन बनाएका थिए ।
पोखरालाई मध्यम रनस्कोरमा रोक्ने क्रममा धनगढीका कमलसिंह ऐरीले चार ओभरमा एक मेडन ओभरसहित २३ रनमा चार विकेट लिए ।
यो जीतसँगै धनगढी ब्लुजको अघिल्लो चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । धनगढीले शुक्रबारसम्म पाँच खेलमा तीनमा जीत सहित छ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । काठमाडौं रोयल अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
धनगढी ब्लुज एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसको स्वामित्वमा छ । कम्पनीका ग्लोबल प्रवन्ध निर्देशक एवं मालिक सन्जीव शर्मा र बद्री अर्याल रहेका छन् । भने टीम प्रशिक्षकमा मनोज कटुवाल र टीम व्यवस्थापकमा सुवास प्रधान रहेका छन् ।