धनगढीले पोखरालाई २ विकेटले हरायो

पोखरा । पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताकाे शुक्रबारकाे पहिलाे खेलमा एक्स्पर्ट धनगढी ब्लुजले पोखरा पल्टनलाई २ विकेटले पराजित गरेको छ।
१ सय ४५ रनको लक्ष्य धनगढीले अन्तिम १ बल बाँकी छँदा ८ विकेटको क्षतिमा पूरा गर्यो । धनगढीले समूहका सबै ५ खेलबाट ६ अंक जोड्यो। पोखराको ४ खेलबाट ४ अंक भएकाे छ। पोखराले अन्तिम खेल खेल्न बाँकी छ।
लिगको शीर्ष टिम सिधै फाइनलमा पुग्नेछ। दोस्रो र तेस्रो हुने टिम इलिमिनेटका लागि प्रतिस्पर्धा गर्नेछन् भने पुछारका ३ टिम बाहिरिनेछन्।
अन्तिम ओभरमा १४ रन चाहिएको स्थितिमा धनगढीका कप्तान दीपेन्द्रसिंह ऐरीले १६ रन जोडे । दीपेन्द्र ४९ बलमा अविजित रहे। उनले २६ बलमा ४ चौका र ४ छक्का प्रहार गरे।
धनगढीका लागि पिटर ट्रेगोले ३४ बलमा ५ चौका र ४ छक्काको मद्दतमा ५३ रन जोडे। ओपनिङ ब्याट्सम्यान सुभेन्दु पाण्डेले २२ रनको योगदान दिए। बलिङमा पोखराका रासिद खानले ४ विकेट लिए। ललितनारायण राजवंशी र विक्रम भुषालले २-२ विकेट हात पारे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन जोड्यो। सुस्त सुरुवात गरेको पोखराले अन्तिम ५ ओभरमा ५९ रन जोडेको थियो।
पोखराका लागि रोहितकुमार पौडेलले सबैभन्दा बढी ३१ रन जोडे। उनले ड्यानियल लरेन्सको बलमा एलबिडब्लूको धरापमा पर्नुअघि २१ बलमा ४ चौका र १ छक्का हिर्काए।
बलिङमा धनगढीका कमलसिंह ऐरीले ४ विकेट लिन सफल भए। पिटर ट्रेगो, ड्यानियल लरेन्स र रोबिन क्षेत्रीले १-१ विकेट हात पारे।
अाजकाे दोस्रो खेलमा बुटवल ब्लास्टर्स र हुलास काठमाडौं रोयल्सबीच प्रतिस्पर्धा भइरहेकाे छ ।
तालिकाको शीर्ष स्थानको बुटवलले चार खेल खेल्दै दुईमा जित र दुईमा हार व्यहोरेको छ । तीन खेल खेलेको काठमाडौंले दुई खेल जित्दा एक खेल हारेको छ । काठमाडौं तालिकाको चौथो स्थानमा छ ।