डीसीएको मुम्बई टुर : तीन जीत र चार हार
धनगढी । सात वटा मैत्रीपूर्ण एकदिवसीय क्रिकेट शृंखला खेल्न मुम्बई टुरमा रहेको धनगढी क्रिकेट एकेडेमी (डीसीए) शृंखलामा तीन जीत र चार हार बेहोरेको छ ।
बुधबार मुम्बईको कल्याणस्थित भिवन्डीगाउँ टिमसँगको अन्तिम खेलमा डीसीए दुई विकेटले पराजित भयो । डीसीएका ब्याट्सम्यान सानु मण्डलले आकर्षक अर्धशतक तथा दश वर्षीय बलर सुबोध तिवारीले घातक बलिङ गरे पनि हारलाई टार्न सकेनन् ।
एकेडेमीले मुम्बईबाट प्रेषित गरेको जानकारीअनुसार स्थानीय सोनाले क्रिकेट मैदानमा बुधबार भएको खेलमा डीसीएले टस जित्यो र पहिले ब्याटिङ गर्ने निर्णय गर्यो ।
३० ओभरको खेलमा डीसीएले नौ विकेट गुमाएर एक सय ६६ रन बनाएको थियो । डीसीएका सोनु मण्डलले तीन छक्का र तीन चौका हिर्काउँदै अविजित ६८ रन बनाए । डीसीएको ब्याटिङ इनिङमा कप्तान सुवोध ऐरले जम्मा छ बलमा दुई विशाल छक्का र दुई चौका हिर्काउँदै २० रन बनाए । भने किरण नाथले १९ रनको योगदान दिए ।
बलिङतर्फ भिवन्डीका सोहेब गौरीले डीसीएका चार र खसिद अन्सारीले दुई खेलाडीलाई आउट गरे ।
प्रति ओभर ५.५७ रनको सामान्य विजय लक्ष्य पाएको भिवन्डीगाउँ टिमले जीतका लागि संघर्ष गर्नुपर्यो । भिवन्डीले २९ औं ओभरमा आठ विकेट गुमाएर लक्ष्य प्राप्त गरेको थियो ।
मुम्बई टुरमा सातमध्ये चार वटा खेलमा बलिङको अवसर पाएका दश वर्षीय सुबोध तिवारीले बुधबारको खेलमा पनि तीन विकेट लिएका थिए । शृंखलामा उनको नाममा आठ विकेट रह्यो । तर, बुधबारको खेलमा डीसीएको फिल्डिङ निकै फितलो रहनु पनि पराजयको मुख्य कारण बन्यो ।