५ जेष्ठ २०८१, शनिबार

डीसीएको मुम्बई टुर : छैठौं खेलमा पराजित



धनगढी । मुम्बई टुरका क्रममा लगातार तीन खेलमा उत्कृट प्रदर्शन गरेको धनगढी क्रिकेट एकेडेमी (डीसीए) मंगलबारको खेलमा मंगलबार पराजित भएको छ । यससँगै मंगलबारसम्म डीसीएले तीन खेलमा जीत र तीन खेलमा हार बेहोरेको छ ।
एकेडेमीले मंगलबार मुम्बईबाट पठाएको जानकारी अनुसार मुम्बईको कल्याणस्थित भिवन्डीगाउँ टिमसँगको खेलमा डीसीए ४४ रनले पराजित भयो । सोनाले क्रिकेट मैदानमा भिवन्डीगाउँले दिएको एक सय २९ रनको लक्ष्य पछ्याउने क्रममा डीसीए निर्धारित १५ ओभरमा आठ विकेट क्षतीमा ८४ रनमा सीमित भयो ।
टस जितेर भिवन्डीले पहिले ब्याटिङ गर्दै एक सय २८ रन बनायो । प्रतिउत्तरमा डीसीए छ जना खेलाडीले दोहोरो अंकमा रन बनाउन नसकेपछि ४४ रनको पराजय भोग्नु पर्‍यो । डीसीएका कप्तान सुवोध ऐरले २८, किरण नाथले १८, सोनु मण्डलले १२ र सन्दिप आउजीले १० रन बनाएका थिए ।
डीसीएमाथि ४४ रनको विजय प्राप्त गर्ने क्रममा भिवन्डीका मितले तीन र रास्विलले दुई तथा उमर, हन्जला र साहेवले एक/एक विकेट लिए ।
यसअघि ब्याटिङ गरेको भिवन्डीले १५ ओभरमा तीन विकेट मात्र गुमाएर एक सय २८ रन बनाएको थियो ।
भिवन्डीका राहुलले अविजित ४१ रन बनाए भने ललितले ३१ तथा उमरले २७ रन जोडे । मुम्बई टुरमा डीसीएले सात वटा एकदिवसीय खेल खेल्ने क्रममा आज बुधबार अन्तिम खेल खेल्दै छ ।
यसैबीच, डीसीए र भिवन्डीबीचको क्रिकेट खेलको उट्घाटन गर्दै साई सेवक प्रतिष्ठान सोनालेका अध्यक्ष विशु भाउमात्रेले नेपालमा क्रिकेट खेल स्तरीय हुँदै गएको चर्चा गरे ।
सो अवसरमा नेपालको तर्फबाट मन्तव्य व्यक्त गर्दै धनगढी उपमहानगरपालिकाका नगर स्तरीय खेलकुद समितिका संयोजक एवं वडा नम्बर ४ का अध्यक्ष दीपक थापाले नेपालमा खेलकुद विकासका लागि विभिन्न पहलहरू भइरहेको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार