२ जेष्ठ २०८१, बुधबार

एकीकृत मार्सलआर्ट प्रतियोगिता : खेलाडीहरू नयाँदिल्ली प्रस्थान



धनगढी । भारतको नयाँ दिल्लीमा आयोजना हुने आठौं विश्व एकीकृत मार्सलआर्ट प्रतियोगितामा सहभागी हुन सुदूरपश्चिम प्रदेश सहित नेपाली खेलाडीहरू प्रस्थान गरेका छन् ।
मार्सलआर्ट प्रतियोगितामा भाग लिन सुदूरपश्चिम प्रदेश र अन्य प्रदेशका गरी २० जना खेलाडीहरूलाई मंगलबार धनगढीमा बिदाई गरियो ।
मंगलबार धनगढीमा एक संक्षिप्त कार्यक्रममा कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर सिंहले टिका र खादा ओढाएर बिदाइ गरे ।
टोलीमा सहभागी मार्सलआर्ट प्रशिक्षक तेजबहादुर सिंहका अनुसार नोभेम्बर १ देखि ४ तारेखसम्म सो प्रतियोगिता हुने छ । प्रतियोगितामा विश्वभरीका ३० देशका खेलाडीहरूको सहभागिता रहेको छ । नेपालबाट ३० जना खेलाडीको सहभागिता रहेको उनले जानकारी दिए ।
झापा लगायतका पूर्वी नेपालबाट यसअघि १० जना खेलाडी दिल्ली प्रस्थान गरिसकेका छन् ।
प्रशिक्षक सिंहका अनुसार सुदूरपश्चिम प्रदेशका खेलाडीहरूलाई तालिमका लागि घोडाघोडी नगरपालिकाले आवश्यक आर्थिक सहयोग गरेको छ । सुदूपश्चिम प्रदेशबाट १२ जना खेलाडी छनोट भएका छन् ।
यसअघि कोरियामा भएको सातौं विश्व मार्सलआर्ट प्रतियोगितामा प्रशिक्षक सिंहसहित तीन जना खेलाडी सहभागी भएका थिए । उनले प्रतियोगितामा नेपाली खेलाडीले दुई स्वर्ण तथा एक काँश्य पदक जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार