५ जेष्ठ २०८१, शनिबार

बर्खास्त एसपी बिष्ट अदालत जाने



काठमाडौं । गृह मन्त्रालयले सेवाबाट बर्खास्त गर्ने निर्णय गरेपछि कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले आउने आइतबार अदालत जाने घोषणा गरेका छन् ।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रभावकारी कार्य सम्पादन तथा अनुसन्धान नगरेको भन्दै मन्त्रालयले विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त गरेपछि उनले यस्तो निर्णय गरेको घोषणा गरेका हुन् ।
उनले भने, “मैले यत्रो काम गरें । मलाई न्याय दिनुपर्नेमा मेरो संगठनले त्यस्तो गरेन । अब म अदालत जान्छु । मसँग अरू कुनै विकल्प नै छैन ।”
निर्मला पन्त हत्या प्रकरणका आरोपी कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्टको जागिर गएको छ । गृह मन्त्रालयले बिहीबार उनीहरूलाई बर्खास्त गर्ने निर्णय गरेको हो । गृहसचिव प्रेमकुमार राईको निर्देशनानुसार प्रहरी प्रधान कार्यालयले निलम्बित एसपी विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टसँग स्पष्टीकरण सोधेको थियो ।
सो अनुसार उनीहरूले बुधबार स्पष्टीकरण बुझाएपछि मन्त्रालयले बर्खास्तीको निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार