५ जेष्ठ २०८१, शनिबार

पीपीएलमा धनगढी ब्लजुको पहिलो जीत



धनगढी । पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) मा एक्सपर्ट धनगढी ब्लुजले पहिलो जीत दर्ता गरेको छ । ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गर्दै धनगढी ब्लुजले बिराटनगर टाइटन्सलाई ७८ रनले हराएर जीतको यात्रा प्रारम्भ गरेको छ ।
पोखरा रंगशालामा आइतबारको पहिलो खेलमा बिराटनगर टाइटन्सले टस जित्यो र धनगढी ब्लुजलाई ब्याटिङका लागि आमन्त्रण गर्‍यो । धनगढीले २० ओभरमा एक सय ८२ रनको बिशाल स्कोर बनायो ।
धनगढी ब्लुजका पिटर ट्रेगोले ३८ बलमा ५२ रन (एक छक्का, दुई चौका) को अर्धशतकीय पारी खेले । धनगढीको इनिङमा सौरभ खनालको धुँवाधार ब्याटिङ सबैभन्दा आकर्षक रह्यो । उनले जम्मा १३ बलको सामना गर्दै ४१ बनाए । उनले पाँच विशाल छक्का र दुई चौका हिर्काएका थिए । धनगढी ब्लुजका दीपेन्द्रसिंह ऐरीले पनि २९ रनको योगदान गरे ।
बलिङतर्फ विराटनगर टाइटन्सका जीतेन्द्र मुखियाले चार ओभरमा २९ रन खर्चेर चार विकेट लिए । त्यस्तै, कप्तान सन्दीप लामिछाने, सुनिल धमला, किशोर महतो र मोहम्मद जायदले एक/एक विकेट लिए ।
प्रति ओभर ९.१ रन विजय लक्ष्यका साथ ब्याटिङ गर्न ओर्लेको बिराटनगर टाइटन्स धनगढी ब्लुजका बलरको सटिक र धारिलो बलिङ सामु टिक्न नसकेपछि एक सय चार रनमा समेटियो ।
विराटनगरमाथि ठूलो रन अन्तरको जीत दर्ता गर्ने क्रममा धनगढीका डन लरेन्सले तीन तथा दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए । एक एक विकेट रोविन क्षेत्री, कमलसिंह ऐरी र पिटर ट्रेगोको नाममा रह्यो ।
विराटनगर टाइटन्सको पारीमा सुनिल धमलाले २१ रन बनाए भने मोहमद जाइद आलमले १९ रन, आन्ड्रयु सुविक्षणले १८ र सन्दीप लामिछानेले १० रन बनाएका थिए ।
पीपीएलमा यो विराटनगर टाइटन्सको दोस्रो हार हो ।
धनगढी ब्लुजले भने शनिबारको खेलमा हार व्यहोरेकोमा आइतबार जीतसँगै राम्रो कमब्याक गरेको छ ।
धनगढी ब्लुजले पर्सी १४ गते चितवन राईनोज विरुद्ध खेल्ने छ भने १५ गते बुटवल ब्लास्टर्स र लिग चरणको अन्तिम खेलमा कात्तिक १६ गते पोखरा पल्टन विरुद्ध खेल्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार