१२ श्रावण २०८१, शनिबार

धनगढी ब्लुजको समर्थनमा र्‍याली



धनगढी । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) मा प्रतिस्पर्धा गरिरहेको सुदूरपश्चिम प्रदेशको टिम एक्सपर्ट धनगढी ब्लुजको समर्थनमा शनिबार धनगढीमा र्‍याली निकालिएको छ । टीमको हौसला बढाउने उद्देश्यले धनगढीको चौराहदेखि क्याम्पसरोडसम्म र्‍याली निकालिएको जनाइएको छ ।
दीपेन्दसिंह ऐरीको कप्तानमा रहेको धनगढी ब्लुजमा मन्जित श्रेष्ठ, योगेन्द्रसिंह कार्की, सन्तोष भट्ट, रोबिन क्षेत्री, सन्दीप सुनार, कमलसिंह ऐरी, दिलिप नाथ, सागर ढकाल, सन्दीप जोरा, निर्दाेष अन्सारी, सौरभ खनाल, बिक्रम ठगुन्ना र सन्दीप रजाली तथा विदेशी खेलाडी ड्यान लरेन्स र पिटर डेभिड ट्रेगो रहेका छन् ।
त्यस्तै, आइकनिक खेलाडीमा सुबेन्धु पाण्डे र अरुणसिंह ऐरी रहेका छन् । धनगढी ब्लुजमा सुदूरपश्चिमका नौ जना खेलाडी रहेका छन् ।
धनगढी ब्लुज एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसको स्वामित्वमा छ ।

पहिलो खेलमा धनगढी ब्लुज पराजित
पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत शनिबारको खेलमा एक्सपर्ट धनगढी ब्लुज पराजित भएको छ ।
धनगढी ब्लुज काठमाडौं रोयल्ससँग १७ रनले पराजित भएको हो । पोखरा रंगशालामा भएको खेलमा काठमाडौं रोयल्सले दिएको एक सय ८१ रनको बिजयी लक्ष्य पछ्याउने क्रममा धनगढी ब्लुज निर्धारित २० ओभरमा आठ विकेट क्षतिमा एक सय ६३ रनमा सीमित भएको थियो ।
धनगढीका कप्तान दीपेन्द्रसिंह ऐरीले ५४ रनको अर्धशतकीय पारी खेले पनि जीतका लागि पर्याप्त भएन । धनगढी ब्लुजका ओपनरद्वय सन्दीप सुनार र लरेन्सले २१ रन जोडेका थिए । सन्दीपले ११ र लरेन्सले आठ रन बनाए । त्यस्तै, पिटर थियागो र दिलिप नाथले १०/१० रन जोडेका थिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा तीन विकेट क्षतिमा एक सय ८० रनको विशाल स्कोर खडा गर्‍यो ।
काठमाडौं रोयल्सका गौरब तोमरले ९५ रनको बिस्फोटक पारी खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार