२ जेष्ठ २०८१, बुधबार

डीसीएको मुम्बई टुर–२०१८ : दोस्रो जीत, ब्याटिङ र बलिङमा चम्कियो



धनगढी । ब्याटिङ, बलिङ र फिल्डिङ सबैमा उत्कृष्ट प्रदर्शनसँगै मुम्बई टुरमा रहेको धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले लगातार दोस्रो जीत दर्ज गरेको छ । यससँगै अहिलेसम्म भएका चार वटा मैत्रीपूर्ण खेलमा डीसीएको दुई जीत र दुई हारको अवस्था रहेको छ ।
शुक्रबारको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईको रोयल क्रिकेट क्लवलाई एक सय १४ रनमा रोक्दै डीसीएले पाँच विकेट क्षतिमा जीतको लक्ष्य प्राप्त गर्‍यो ।
३५ ओभरमा खेलाइएको खेलमा रोयलले दिएको एक सय १५ रनको चुनौति डीसीएले २३ दशमलव दुई ओभरमा पाँच विकेट क्षतिमा प्राप्त गर्‍यो । डीसीएको जीतमा अहम् भूमिका निर्वाह गर्दै रोहन विकले छ चौका हिर्काउदै ३७ रन बनाए । त्यस्तै, सिजन कुँवरले १८, किरण नाथले १८, कप्तान सुवोध ऐरले १५ र सक्षम कार्कीले नौ रन बनाए ।
यसअघि, रोयल क्रिकेट क्लव २९ ओभरमा एक सय १४ रनमा अलआउट भयो । रोयलका प्रारम्भिक ब्याट्सम्यान राज वाघेलाले ६७ रनको अर्धशतकीय पारी खेले पनि ठूलो स्कोर बन्न सकेन ।
रोयललाई सस्तैमा रोक्ने क्रममा डीसीएका बलर राजन लोहनी र निशान पन्तले दुई/दुई विकेट लिए । त्यस्तै, डीसीएका १० वर्षीय बलर सुबोध तिवारीले एक विकेट लिए । भने कुश मण्डल, सोनु मण्डल, सन्दीप आउजी र विनोद विष्टले पनि एक/एक विकट लिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार