२ जेष्ठ २०८१, बुधबार

डीसीएको मुम्बई टुर : भ्रमणकारी टोलीको पहिलो जीत



धनगढी । सात एकदिवसीय खेलको मुम्बई टुर–२०१८ मा रहेको धनगढी क्रिकेट एकेडेमी (डीसीए) को अण्डर–१७ टिमले बिहीबार पहिलो जीत हात पारेको छ । डीसीएले यसअघिका दुई खेलमा लगातार पराजय भोगेको थियो ।
डीसीएले बिहीबार मुम्बई पुलिसको जिमखाना मैदानमा भएको खेलमा मुम्बई पुलिसको अण्डर–१७ टिमलाई दश रनले हराउँदै पहिलो जीत दर्ज गरेको छ ।
तेस्रो खेलमा डीसीएले टस जित्यो र ब्याटिङ गर्ने निर्णय गर्‍यो । रोहन बिकको २७ बलमा चार चौका सहित बनाएको ४२ रनको योगदानले डीसीएले निर्धारित ४० ओभरको खेलमा आठ विकेट क्षतिमा एक सय ६५ रनको लड्नयोग्य स्कोर खडा गर्‍यो ।
डीसीएका सोनु मण्डलले ३३ रन (चार चौका) र कप्तान सुवोध ऐर २७ रन (चार चौका) रन बनाए ।
बलिङतर्फ मुम्बई पुलिसका जेनिथ सहदेव, कुश जैन र धनित रावतले दुई/दुई विकेट लिए ।
प्रतिओभर ४.१५ रनको विजय लक्ष्य पाएको मुम्बईका आर्यन् र ऋषिभेषले राम्रो ब्याटिङ गरे पनि टिमलाई पराजयबाट जोगाउन सकेनन् ।
आर्यनले ५१ रनको अर्धशतकीय पारी खेले भने ऋषिभेष मोरेले २६ र अभिषेक यादवले १२ रन बनाए पनि पुरै टिम ३४ ओभरमा एक सय ५५ रनमा अलआउट भयो ।
मुम्बई पुलिस अण्डर–१७ माथि दश रनको जीत प्राप्त गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका डीसीएका बिनोद बिष्टले घातक बलिङ गर्दै ४३ रन खर्चेर चार विकेट लिए । त्यस्तै, कुश मण्डलले तीन तथा सोनु मण्डल, निशान पन्त र राजन लोहनीले एक/एक विकेट आफ्नो खातामा लेखाए ।
१० दिनको मुम्बई टुरमा रहेको डीसीएको अण्डर–१७ टोलीले चार वटा खेल खेल्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार