२२ बैशाख २०८१, शनिबार

सोह्र वर्षमा १६ किलो



लम्की । लम्कीचुहा नगरपालिका वडा नम्बर ४, बलियाकी सुशीला विक १६ वर्ष कि भइन् । सामान्यतया: यो युवावस्था हो । तर, सुशीलाको उमेर मात्रै १६ वर्ष भयो, कदकाठी र जीउले उनी छ, सात वर्षको अवोध बालिका झैं लाग्छिन् ।
१६ वर्षको उमेरमा उनको उचाई ३९ ईन्च रहेको छ र तौल १६ किलो मात्र । सुशीलाकी आमा दुराका अनुसार उनको जन्म दश महिनामा भएको हो । “दश महिना पुरा भएपछि मात्र छोरी (सुशीला) जन्मेकी हो” आमा दुराले भनिन्– “स्वस्थ जन्मेकी हो । आजसम्म बिरामी पनि भएकी छैन । तर, कुनि किन हो छोरीको तौल र उचाई भने बढ्दैन ।”
उनकी जेठी छोरीको विवाह भइसक्यो । दुई छोरा भारतमा काम गर्छन । सुशीला कान्छी छोरी हुन् । डाक्टर अर्जुनदास निवासिङ ठकुरीका अनुसार सुशीलाको उमेरको अनुपातमा ३५ किलो तौल र साढे चारफिट उचाई हुनुपर्छ ।
श्री जनता माध्यामिक विद्यालय, चौरीपुरमा कक्षा ६ का छात्रा सुशीला कुशल नर्तकी हुन् । उनी देउडा पनि उत्तिकै आकर्षक ढंगले खेल्छिन् । उनी प्रष्ट बोल्ने, र सबैसँग मिलेर बस्ने स्वभावका कारण गाउलेकी प्रिय बनेकी छन् ।
आमा दुराका अनुसार एक वर्षअघि सुशीलालाई महोत्सवमा प्रदर्शनीमा राख्ने, डान्स सिकाउने र पठनपाठनको व्यवस्था गरीदिने भनेर काठमाडौंबाट आएका तीन जना आएका थिए । “तर हामीले अपरिचित व्यक्तिहरूको जिम्मामा छोरीलाई पठाउन सकेनौ” उनले भनिन्– “त्यसको केही समयपछि पूर्वबाट फेरि दुईजना आए र हामीलाई छोरीलाई दिनुहोस्, हामी कलाकार बनाईदिन्छौं भन्न थाले । तर, त्यतिबेला पनि विश्वास नलागेका कारण उनीहरूलाई फिर्ता पठाइदिए ।”
उनीसँग तीन कठ्ठा जमिन छ । त्यसैमा घरबास बनाएका छन् । आमा दुराका अनुसार दुई कठ्टा जमिन चौरीपुर नदिले बगायो । उनीहरू मजदूरी गरेर जिविकोपार्जन गर्दै आएका छन् । “रोजगारी गर्न गएका श्रीमान उतै बिरामी परेका छन् । घरको आर्थिक अवस्था कमजोर छ” उनले भनिन्– “तौल र उचाईले ठगे पनि यो (सुशीला) को नाचगानमा निकै रुचि छ, तर के गरु आफ्नो आर्थिक अवस्थाले उसको रहर र सपना पुरा गर्न सक्दिन ।”

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार