३० आश्विन २०८१, बुधबार

निर्मला हत्याकाण्ड : प्रमाण नष्ट गरेको आरोपीहरूद्वारा स्पष्टीकरण



काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रमाण नष्ट गर्ने कार्यमा संलग्न रहेको आरोप लाग्दै आएका कञ्चनपुरका निलम्बित प्रहरी निरीक्षक जगदीश भट्टले स्पष्टीकरण दिएका छन् ।
कञ्चनपुरकै तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज बिष्टले भोलि (बुधबार) स्पष्टीकरण दिइसक्नुपर्ने जनाइएको छ ।
१३ वर्षीया बालिका निर्मलाको बलात्कार तथा हत्याको अनुसन्धानमा गम्भीर लापरवाही गरेको भन्दै उनलाई सेवाबाट बर्खास्त गर्ने प्रक्रिया अघि बढाइएको छ । सो अघि उनलाई स्पष्टीकरणका लागि अवसर दिइएको बताइएको छ । प्रहरी प्रधान कार्यालयले निलम्बित एसपी बिष्टलाई सेवाबाट बर्खास्त गर्नेबारे गृहसचिवलाई पत्र पठासकेको बताइएको छ ।

nirmala-pant
निर्मला पन्त

गृहले स्पष्टीकरण लिएर मन्त्रालयमा पेस गर्न प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको थियो । प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक भट्टलाई सोमबार स्पष्टीकरणको पत्र थमाएको थियो । पत्र पाएको २४ घन्टाभित्र लिखित जवाफ पठाउनुपर्ने कानूनी प्रावधानअनुसार भट्टले स्पष्टीकरणको जवाफ पठाएको प्रहरी प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीले जानकारी दिए ।
प्रहरी प्रधान कार्यालये प्रहरी निरीक्षक भट्टसँगै एसपी विष्टलाई सोमबार स्पष्टीकरण पत्र बताए पनि उनले आफू अन्य काममा व्यस्त भएकोले मंगलबार पत्र बुझेको प्रहरी प्रवक्ता डिआइजी थापा क्षेत्रीले बताए । पत्र बुझेको २४ घन्टाभित्र लिखित जवाफ पठाउनुपर्ने भएकाले एसपी विष्टले भोलि (बुधबार) सम्ममा जवाफ पठाउनुपर्नेछ ।
एसपी विष्ट र प्रहरी निरीक्षक भट्टको जवाफ प्रहरी प्रधान कार्यालयले गृहसचिव प्रेमकुमार राईसमक्ष पेस गर्नुपर्ने हुन्छ । विष्टको जवाफ आएपछि बुधबारनै गृहमा स्पष्टीकरणको लिखित जवाफ पेस गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनीहरूको जवाफ चित्तबुझ्दो नभए बर्खास्त हुनसक्ने गृह मन्त्रालयले जनाएको छ ।
प्रहरी निरीक्षकदेखि उपरीक्षकसम्मको बर्खास्तीको अधिकार गृहसचिवमा निहीत हुन्छ । प्रहरी महानिरीक्षकले हस्ताक्षर गरेको कारवाही सिफारिसपत्रअनुसार गृहसचिवले दुई पटकसम्म २४ घन्टे स्पष्टीकरण सोध्न सक्छन् । त्यो स्पष्टीकरण चित्त नबुझे सरकारी सेवामा अयोग्य हुनेगरी समेत बर्खास्त गर्ने अधिकार गृहसिचवलाई हुन्छ ।
पन्त हत्याको अनुसन्धानमा लापरवाही गरेको भन्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टराईलाई सेवाबाट निष्कासन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेका थिए ।
गत साउन १० गते साथीको घरबाट स्कुलको गृहकार्य सकेर घर जाँदै गरेकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो । आधा दर्जनभन्दा बढी प्रहरी टोलीले घटनाको छानबिन गरे पनि परिणाम शुन्य भएको अवस्थामा सरकारले कञ्चनपुरका तत्कलीन प्रहरी प्रमुख विष्टलाई बर्खास्त गर्न प्रक्रिया अघि बढाउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार