११ श्रावण २०८१, शुक्रबार

राष्ट्रबैंकको आग्रह– नोटको जतन गरौं



धनगढी । दशैं, तिहार, छठ पर्व नकिजिएसँगै नयाँ नोटको माग पनि ह्वात्तै बढेको छ । दशैंतिहारमा नयाँ नोटको बढी प्रयोग हुने भएकाले नेपाल राष्ट्र बैंकले नोटको जतन गर्न आग्रह गरेको छ । दशैंतिहार, छठसहितका चाडबाडमा पूजाआजा र टीका लगाउने गर्दा नोटमा अबिर, अक्षता, चन्दन, पानी छ्याप्ने प्रचलनले गर्दा चाँडै बिग्रिने गर्ने हुनाले जतन गर्न राष्ट्रबैंकले अनुरोध गरेको छ ।
“एउटा नोट छाप्नका लागि दुईदेखि चार रुपैयाँसम्म लागत लाग्ने गर्छ । हरेक वर्ष दशैंतिहार आउनुअघि अर्बौका नयाँ नोट सटही गर्नुपर्दा राज्यले ठूलै व्ययभार बेहोर्नुपरेको हुन्छ” नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय, धनगढीका निर्देशक किरण पण्डितले भने– “तर, आम नागरिकले नयाँ नोटको जतन गर्न खासै ध्यान दिएको पाइदैन ।” निर्देशक पण्डितका अनुसार आम नागरिकले नोटको उचित जतन नगरेका कारण नेपाली नोटको आयु औसतमा डेढ वर्षको मात्रै हुने गरेको छ । पुराना, झुत्रा नोटलाई राष्ट्रबैंकले नष्ट गर्ने गरेको छ ।
निर्देशक पण्डितले नोटको उचित संरक्षणको अभावका कारण हरेक वर्ष राज्यले ठूलो व्ययभार बेहोर्नु परिरहेको छ । उनले भने– “नोट निष्कासन गरेर राष्ट्र बैंकले व्यापार गर्ने गरे पनि बर्सेनि ठूलो परिमाणमा पुराना तथा झुत्रा नोट नष्ट गर्नुपर्दा राज्यले ठूलो आर्थिक भार व्यहोर्नु परेको छ ।
नेपाल राष्ट्र बैंकले नोट राख्दा ‘मनी ब्याग’ वा ‘पर्स’ को प्रयोग गर्ने बानी बसाउन, नोटमा जथाभावी केरमेट नगर्न, नोटलाई अबिर, अक्षता, माटो, धमिरा, मुसा, आगो, पानी इत्यादिबाट जोगाउन, नोटलाई कच्याककुच्चुक नपार्न तथा पोको नपार्न, जमिनमा गाड्ने काम नगर्न तथा नोटको हिफाजत गर्न आफूले जान्ने र अरूलाई पनि बुझाउन आग्रह गरेको छ ।
त्यस्तै, पूजाआजा गर्दा अथवा कुनै काम गर्दा मैलो हातले सकेसम्म नोट नछुने, आफूलाई आवश्यक पर्नेभन्दा बढी नोट बैंकमा जम्मा गर्ने बानी बसाउने, बैंकमा चेक तथा एटिएम कार्डहरू प्रयोग गरी नगद कारोबार कम गर्ने बानी बसाउने, कारोबारको क्रममा शंकास्पद नोटहरू पाइएमा नजिकैको नेपाल राष्ट्र बैंकको कार्यालय वा अन्य बैंक तथा वित्तीय संस्थामा दाखिला गर्ने लगायतको आग्रह गरेको छ ।

सम्बन्धित समाचार

बिदामा पनि बैंक खुल्ने

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार