१२ श्रावण २०८१, शनिबार

बुहारी बलात्कार गरेको आरोपमा पक्राउ



लम्की । बुहारीलाई बलात्कार गरेको आरोपमा लम्कीचुहा नगरपालिकाका एक जना ५० वर्षीय अधवैंशेलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने धम्की दिँदै उनले आफ्नी १६ वर्षीया बुहारीलाई पटकपटक बलात्कार गरेको बताइएको छ । लम्की ईलाका प्रहरी कार्यालयमा दर्ता भएको किटानी जाहेरीपछि प्रहरीले गनलाई गत २१ गते पक्राउ गरेको जनाएको छ ।
ईलाका प्रहरी कार्यायल, लम्कीका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीका अनुसार आरोपीमाथि जवरजस्ती करणीको मुद्दा दर्ता गरी थप कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय, कैलाली चलान गरिएको छ ।
पीडित सपना (नाम परिवर्तन) को २०७४ मंसिरमा लम्कीचूहा नगरपालिकाका १७ वर्षीय हरिबहादुर (नाम परिवर्तन) सँग प्रेमविवाह भएको थियो । पीडित सपनाले विहेपछि लगत्तै सबै भारतको हिमाञ्चल प्रदेशको रुडु भन्ने ठाउँमा काम गर्न गएको बताइन् । उनले भनिन्– “इन्डिया गएपछि ससुराले मानसिक यातना दिँदै कुटपिट गर्न थाले । घरका कोही पनि सुसराको डरले बोल्नै सक्दैनथे । गत भदौमा डेरामा कोही नभएको बेला ज्यान मार्ने धम्की दिँदै मलाई बलात्कार गरे ।”
पीडित सपनाका अनुसार ससुराको कुकर्मबारे बिस्तारै आफ्ना श्रीमान र घरका अरू सदस्यलाई थाहा भयो । तर, डरले कसैले केही भन्न विरोध गर्न सकेनन् । उनले भनिन्– “मार्नेकाट्ने धम्की दिन थालेपछि हामी अन्यत्र बस्न थाल्यौं । मेरा श्रीमानले भारतीय प्रहरीमा निवेदन दिए । त्यो थाहा पाएर ससुराले ‘जंगलमा लुक्न जाऔं, नगए मार्छु’ भन्ने दिए । हामी जंगलतर्फ गयौं । त्यहाँ ससुराले चार दिनसम्म पटकपटक बलात्कार गरे ।” पीडित सपनाका अनुसार जंगलमा लुकेर बसेका बेला सासू, नन्द र देवरले जंगलमै खाना पुर्‍याउने गरेका थिए ।
उनीहरू चार दिनपछि डेरामा फर्किए । “सासूले पैसाको व्यवस्था गरी हामीलाई नेपाल पठाइन् । तर, ससुराले घर नर्फिइ बम्बै जाआंै भनेर दवाव दिन थाले,” उनका अनुसार, “यो घटनाबारे कसैलाई भन्दिन, घर जाऔं” भनेपछि बल्ल फर्किन तयार भए ।
असोज २१ गते माइतीमा पुगेपछि उनका श्रीमानले माइती पक्ष र गाउँका केही मानिसलाई बुवाको अपराधबारे जानकारी दिएको उनले बताइन् । अपराधबारे जानकारी पाएर आइपुगेका केही महिलाले प्रहरीलाई खबर गरेको लगत्तै प्रहरीले ससुरालाई पक्राउ गरेको उनले बताइन् ।
पटकपटकको बलात्कारबाट बुहारी गर्भवती भएको बताइएको छ । उनी अहिले माइतीमा बसेकी छन् । उनले पीडा पोखिन्– “गर्भवती भएकी छु । बच्चा जन्मियो भने मर्नुबाहेक मसँग अरू उपाय हुने छैन । त्यसैले कानूनी रूपमा गर्भपतन गर्न मलाई सहयोग गर्नुपर्‍यो ।”

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार