१२ श्रावण २०८१, शनिबार

उवासंघद्वारा शुभकामना आदानप्रदान : प्रदेश प्रमुखले भने– सुदूरपश्चिममा औद्योगिक क्रान्ति आवश्यक



धनगढी । कैलाली उद्योग वाणिज्य संघ र सुदूरपश्चिम उद्योग वाणिज्य संघको आयोजनामा शनिबार धनगढीमा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ ।
दशैं, तिहार र छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि समेत रहेका प्रदेश प्रमुख मोहनराज मल्लले सुदूरपश्चिम प्रदेशलाई औद्योगिक प्रदेशका रूपमा विकास गर्नु आवश्यक भइसकेको बताए । उनले भने– “अहिले हाम्रो प्रदेश कृषि क्षेत्रमा बढि निर्भर रहेको अवस्था छ । तर, यो प्रदेशको साच्चै नै द्रुत गतिमा विकास गर्ने हो भने प्रदेशमा औद्योगिक क्रान्ति आवश्यक छ ।
उनले सुदूरपश्चिममा औद्योगिकीकरण र लगानी भित्र्याउनका लागि अवरोधका रूपमा रहेका नीतिगत व्यवस्थाहरू परिमार्जन गर्दै व्यवसायिक र उद्योगमैत्री कानून निर्माण गर्न प्रदेश सरकारले ध्यान दिने विश्वास व्यक्त गरे ।
सो अवसरमा प्रदेश सभा सदस्य डिल्लीराज पन्तले औद्योगिक क्षेत्रको विकास र विस्तारले मात्रै प्रदेशमा आर्थिक समृद्धि सम्भव हुने बताए ।
कार्यक्रमममा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड, कैलाली प्रहरी प्रमुख लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष शंकर बोगटीको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सञ्चालन कैलाली उद्योग वाणिज्य संघका कार्यालय प्रमुख ज्योति भट्टले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार