११ श्रावण २०८१, शुक्रबार

विभिन्न कार्यक्रमसहित विपद् न्यूनीकरण दिवस मनाइयो



धनगढी । कैलालीसहित देशभरी शनिबार अन्तर्राष्ट्रिय विपद न्यूनीकरण दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
‘विपद् जोखिम न्यूनीकरणका लागि लगानी बढाऔं, आर्थिक क्षति घटाऔं’ भन्ने नाराका साथ धनगढीमा प्रभातफेरि, सचेतना कार्यक्रम, विपद सामग्री हस्तान्तरण आदि कार्यक्रम आयोजना भएका थिए ।
जिल्ला विपद् व्यवस्थापन समितिको आयोजना र नेपाल रेडक्रस सोसाईटीको समन्वयमा प्रशासन कार्यालयदेखि पार्कमोडसम्म प्रभातफेरी निकालिएको थियो । प्रभातफेरीमा सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख, विपद् क्षेत्रमा काम गरिरहेका संघ/संस्था लगायतको सहभागिता रहेको थियो ।
त्यस्तै, दिवसकै अवसरमा मर्सिकोर नेपालले शनिबार जिल्ला विपद् व्यवस्थापन समिति, कैलालीलाई एक लाख ८० हजार रुपैयाँ मूल्य बराबरको विपद् सामग्री सहयोग गरेको छ । मर्सिकोर नेपालले विपद् व्यवस्थापन समितिलाई रबर वोट राख्ने तीन वटा बाकस, प्राथमिक उपचार बाकस १० वटा, फुट पम्प चार वटा, आरी १० वटा र १० वटा टर्च प्रदान गरेको जनाएको छ ।
कार्यक्रममा जिल्लामा रहेका विभिन्न सरकारी तथा गैरसरकारी निकायले विपद् जुनसुकै बेला पनि आउने भएकाले व्यवस्थापनका लागि सधैं सजग हुनुपर्ने बताए ।
धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणि अधिकारीले विपद् पूर्व तयारी तथा विपद् आइहालेपछि के गर्ने भन्नेबारे पहिले नै सतर्क रहनुपर्ने बताए । उनले कुन ठाउँमा कस्तो किसिमको विपद् आउन सक्छ भन्नेबारे स्थानीय बासिन्दा जानकार हुनु आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार