११ श्रावण २०८१, शुक्रबार

बहिराहरूको माग– सांकेतिक भाषामा पठनपाठनमा ध्यान देऊ



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले श्रवणशक्ति कमजोर भएकाहरूका लागि सांकेतिक भाषाको माध्यमबाट पठनपाठनमा चासो नदेखाएको भन्दै आपत्ति जनाएका छन् ।
बहिरा संघ कैलालीको छैठौं साधारण सभामा सहभागीहरूले सांकेतिक भाषालाई राष्ट्रिय भाषाको रूपमा मान्यता दिन समेत माग गरे । साधारण सभाको धनगढी उपमहानगरकाका उपप्रमुख सुशीला मिश्र भट्टले उद्घाटन गरेकी थिइन् ।
सहभागीहरूले प्रदेश सरकारले चासो नदिएकाले सुदूरपश्चिममा १० हजार बढी बहिराहरूले माध्यमिक शिक्षाबाट समेत बञ्चित हुनुपरेको गुनासो गरे ।
बहिरा संघ, कैलालीका अध्यक्ष दिनेश पनेरूले सरकारले सांकेतिक भाषाको पठनपाठन हुने विद्यालय सञ्चालन गर्न माग गरे ।
सुदूरपश्चिममा बहिराका लागि सांकेतिक भाषा सिकाउने १० वटा श्रोत कक्षाहरू सञ्चालनमा छन् । कैलालीमा चारवटा, कञ्चनपुरमा दुई, डोटी तथा डडेल्धुरा, दार्चुला र अछाममा एक, एक वटा श्रोत कक्षा रहेका छन् । डोटीको बुडरस्थित रामपुर आधारभूत विद्यालयमा सञ्चालित सांकेतिक श्रोत कक्षामा बहिराहरूलाई अध्यापन गराउँदै आएका हिरा कप्टेल जेठाराले सरकारबाट खासै चासो नदिएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार