महिला आत्मरक्षा शिविर समापन
धनगढी । धनगढीमा सञ्चालन भएको महिलाहरूका आत्मरक्षा सम्बन्धी तालिम शुक्रबार समापन भएको छ । तालिम सात दिनसम्म सञ्चालन भएको थियो ।
तालिम समापनका अवसरमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारी महिला जागरण अभियान शुरु भएको घोषणा गरे । “यो सात दिने तालिमको औपचारिक कार्यक्रम समापन भएको छ” मन्त्री सोडारीले भने– “अब तपाइहरूले जागरण अभियान शुरु गर्नु पर्छ ।” मन्त्री सोडारीले प्रदेश भरि तालिम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले सुदूरपश्चिम प्रदेशभित्र अझै छाउपडी, बोक्सी आरोप जस्ता कुसंस्कारले गर्दा बदनाम भइरहेको चर्चा गर्दै यस्ता खाले कूप्रथा अन्त्यका लागि व्यापक जनचेतनामूल अभियानको जरुरी रहेको बताए ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले धनगढीका प्रत्येक वडामा तालिम सञ्चालन गरिने बताए । उनले तत्काल तीन वटा वडा र त्यसपछि क्रमश: अन्य वडामा आत्मरक्षा सम्बन्धी तालिम सञ्चालन गरिने बताए ।
कार्यक्रम राष्ट्रिय गोजुरियो कराँते दो संघ नेपालका अध्यक्ष गणेश कार्कीको अध्यक्षतामा भएको थियो । समापन कार्यक्रममा प्रशिक्षक रजनी थापा, कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक सिंह, महिला अधिकारकर्मी संस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो ।
शिविरमा दुई हजार महिला तथा बालिकाले सात दिनसम्म नियमित प्रशिक्षण लिएका थिए । संघका महासचिव प्रकाश चन्दले यस्ता कार्यक्रमलाई स्थानीय तहदेखि अन्य प्रदेशमा समेत सञ्चालन गर्ने बताए । उनले महिलाहरूका लागि आत्मरक्षा सम्बन्धि तालिमले महिलामाथि हुने हिंसा न्यूनीकरणमा सहयोग पुग्ने दावी गरे ।
एक सातासम्म सञ्चालनको महिलाहरूका लागि आत्मरक्षा सम्बन्धी तालिमको शुक्रबार समापन कार्यक्रमा सहभागी महिलाहरूले गाग्री र टायल फुटाएका थिए । शिविरमा सहभागी महिलाहरूले तालिमले आफ्नो मात्रै नभई अरूको पनि रक्षा गर्न सकिने बताएका छन् ।