११ श्रावण २०८१, शुक्रबार

विओपी परिमार्जित



धनगढी । कैलाली भन्सार नाकामा रहेको बोर्डर आउट पोष्ट (विओपी) लाई परिमार्जित गर्दै नम्बर ५३ गुल्म बनाईएको छ ।
सो गुल्मको बिहीबार धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड, कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ र सुदूरपश्चिम बाहिनीका सशस्त्र प्रहरी नायव महानिरक्षक नगेन्द्रबहादुर थापाले संयुक्त रूपमा उद्घाटन गरे ।
संघीय गृह मन्त्रालयको २०७५ जेठ २७ गतेको निर्णयानुसार सशस्त्र प्रहरीको संरचनामा फेरबदल गरिएको थियो । प्रहरी निरिक्षकको कमाण्डमा रहने गरी ५५ जनाको दरबन्दी रहेको विओपीलाई अहिले एक सय ६० जना प्रहरी नायब उपरिक्षकको कमाण्डमा रहने गरी गुल्म बनाइएको छ । कैलालीको त्रिनगरमा स्थापना गरिएको सो गुल्मले जिल्लाभरीका सीमा नाकामा हुने चोरी पैठारी नियन्त्रण गर्नेछ ।
गुल्मको उद्घाटन गर्दै उपमहानगरपालिका प्रमुख वडले बिगतमा भन्सार छलेर सामान नेपाल भित्रिने गरेकोमा केही सुधार आइरहेको चर्चा गरे ।
कैलालीका प्रमुख जिल्ला अधिकारी श्रेष्ठले राजश्व तथा भन्सार सुरक्षा गुल्ममा खटिने सशस्त्र प्रहरीले इमान्दारीतापूर्वक काम गर्न आग्रह गरे ।
सो अवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक थापाले सुदूरपश्चिम प्रदेशमा भन्सार चोरी तस्करीलाई सुन्यमा झार्ने रणनीति अनुरूप काम भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार