१० श्रावण २०८१, बिहीबार

रिक्साचालक जनप्रतिनिधि



लम्की । उनले चुनावताका मतदातासामु जनताको जीवनस्तरमा सुधार ल्याउने प्रतिवद्धता व्यक्त गरे । विकासको सपना बाँडे । जनताको सुखदु:खमा साथ दिने वाचा गरे । मतदाताले पत्याए, र उनलाई वडा सदस्य पदमा निर्वाचित गरे । तर, चुनावताका भनेको जस्तो सजिलो रहेनछ । अझ आर्थिक अवस्था कमजोर भएका जनप्रतिनिधिलाई त चाहेर पनि सधैं जनताको सेवामा लाग्न कठिनाई हुँदो रहेछ । त्यसैले अहिले उनी अटोरिक्सा चालक बनेका छन् ।
लम्कीचुहा नगरपालिका वडा नम्बर ७ बाट वडा सदस्यमा निर्वाचित ४२ वर्षीय धनिराम चौधरी रिक्साचालक बनेका छन् । भन्छन्– “चुनावताका जनताको बीचमा धेरै राम्रा काम गर्ने प्रतिबद्धता गरे जस्तै काम गर्न नसकिने रहेछ । अझ, म जस्ता आर्थिक अवस्था निकै कमजोर भएका जनप्रतिनिधिलाई झन् गाह्रो हुँदो रहेछ । त्यसैले अहिले अटोरिक्सा चलाएर परिवारको लालनपालन गर्ने प्रयास गरिरहेको छु ।”
उनी तत्कालीन फोरम लोकतान्त्रिकको उम्मेदवार बनेर वडा सदस्य निर्वाचित भएका थिए । आर्थिक अवस्था कमजोर भएका उनले गत बैशाखमा छ लाख ऋण लिएर अटोरिक्सा किनेको बताए । “शुरुशुरुमा त गाउँका मान्छेले जनप्रतिनिधि भएर रिक्सा चलाएको भनेर कुरा काटे” उनी भन्छन्– “शुरुमा केही दु:ख त लाग्यो, तर पछि अरूका कुरामा ध्यान दिन छोडे ।”
जनप्रतिनिधि बन्दैमा घरपरिवारको लालनपालन भइहाल्ने होइन् भन्ने बोध गरेर आफूले अटोरिक्सा चलाउने निर्णय गरेको वडा सदस्य धनिराम बताउँछन् । अटोरिक्सा चलाउन थालेपछि उनले घरखर्च तथा छोराछोरीको पढाई गर्न सकेका छन् । भन्छन्– “दैनिक एक हजारदेखि १५ सय रुपैयाँसम्म कमाई हुन्छ । दैनिक पाँच सय रुपैयाँ किस्ताका लागि बचत गर्ने गरेको छु ।”
छ महिनादेखि अटोरिक्सा चलाइरहेका वडा सदस्य धनिरामप्रति अहिले भने गाउँलेको दृष्टिकोण बदलिएको छ । अरू जनप्रतिनिधि पनि उनको कामको प्रसंशा गरिरहेका छन् । “अहिले अरू जनप्रतिनिधिहरू मलाई ‘तपाईको कामले हामीलाई पनि उत्साही बनाएको’ भनेर प्रसंशा गरिरहेका छन्” उनी भन्छन्– “अहिले मलाई आफूले राम्रै काम गरेको लागिरहेको छ ।”
जनप्रतिनिधि भएकाले उनले वडाका काममा पनि ध्यान दिनै पर्ने हुन्छ । “वडामा मिटिङ, छलफल तथा अरू समस्या आउँदा उपस्थित हुनै पर्छ” उनी भन्छन्– “त्यसैले सधैं रिक्सा चलाउन पाउदिन ।”
धनिरामले आठ कक्षा उत्तीर्ण गरेका छन् । आर्थिक कमजोरीका कारण आफूले थप पढ्न नसकेको उनी बताउँछन् । उनले चुनावताका लिएको एक लाख ५० हजार रुपैयाँ अझैं तिर्न नसकेको बताए ।
उनको ठूलो परिवार छ । उनको घरमा उनी, उनकी श्रीमती र सासूससुरा भगत छन् । चार जना छोराछोरी छन् । आर्थिक अभावका कारण जेठी छोरीले ११ कक्षामा पढाई छोडिन् । “अटोरिक्सा चलाउन थालेपछि अहिले केही सहज भएको छ” उनले अटोरिक्साको मासिक १५ हजार किस्ता र ब्याज बुझाउने गरेको बताए ।
वडा सदस्य धनिराम स्थानीय सरकारले जनताको आयस्तर बृद्धि हुने खालका कार्यक्रम सञ्चालनमा बढि ध्यान दिनुपर्ने बताउँछन् । “जीवीकोपार्जनको लागि नमुनाको रूपमा काम गर्न चाहनेहरूलाई स्थानीय सरकारले प्याकेजमै कार्यक्रमको व्यवस्था गर्नु जरुरी छ” उनी भन्छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार