११ श्रावण २०८१, शुक्रबार

महिलाका लागि आत्मरक्षा शिविर शुरु



धनगढी । धनगढीमा आजबाट महिलाहरूका लागि आत्मरक्षा सम्बन्धी शिविर सञ्चालन भएको छ । राष्ट्रिय गोजुरियो कराँते दो संघ र सामाजिक विकास मन्त्रालयको संयुक्त आयोजित सो शिविर सात दिनसम्म सञ्चालन हुने छ ।
ओरेक नेपाल, कमैया प्रथा उन्मुलन समाज, युवा शान्ति परिषद् र क्रियाशील महिला पत्रकार समूहको सहयोगमा सो शिविर आयोजना लागेको हो ।
शिविरको उद्घाटन सुदूरपश्मिच प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले एक कार्यक्रमका बीच गरे । कार्यक्रममा सामाजिक विकास मन्त्री दीर्घ सोडारी, सांसद दुर्गाकुमारी कामी, धनगढी उपमहानगरापलिकाका उपप्रमुख सुशीला मिश्र भट्ट, रोजिना पाण्डेलगायतले शुभकामना व्यक्त गरेका थिए ।
राष्ट्रिय गोजुरियो कराँते दो संघ नेपालका केन्द्रीय महासचिव प्रकाशकुमार चन्दको अध्यक्षतमा भएको कार्यक्रममा स्वागत जिल्ला कैखेलकुद विकास समितिका अध्यक्ष दीपक सिंहले गरेका थिए ।
धनगढीस्थित क्षेत्रीय रंगशालामा सञ्चालन भइरहेको सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका एक हजार सात सय बढी महिला तथा बालिकाको सहभागिता रहेको राष्ट्रिय गोजुरियो कराँते दो संघ नेपालका केन्द्रीय महासचिव प्रकाशकुमार चन्दले जानकारी दिए ।
महिलाहरूका लागि आत्मरक्षा सम्बन्धी अभियान देशव्यापी रूपमा सञ्चालन हुने महासचिव चन्दले बताए । उनले अभियोन सुदूरपश्चिम प्रदेशबाट शुरु भएर बाँकी छ वटै प्रदेशमा आयोजना गरिने जानकारी दिए ।”
संघका महासचिव चन्दले आत्मरक्षा शिविरमा सहभागीहरूमध्ये उत्कृष्ट एक सय जनालाई प्रशिक्षकको रूपमा छनौट गरिने बताए । उनले प्रशिक्षकका रूपमा छनोट भएका प्रशिक्षार्थीलाई स्थानीय तहहरूमा सञ्चालन हुने शिविरमा प्रशिक्षकका रूपमा परिचालन गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार