७ पुष २०८१, आईतवार

प्रमुख प्रतिपक्षको बहिस्कार, प्रदेश सभा बैठक सञ्चालन



धनगढी । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बहिस्कार गरे पनि बुधबार सुदूरपश्चिम प्रदेश सभा बैठक सञ्चालन भएको छ ।
बुधबारको प्रदेश सभा बैठकको शुरु मै प्रदेश सभाले राजधानी र नामबारे गरेको निर्णयप्रति असमति दोहोर्‍याउँदै काँग्रेसका सांसदहरूले बैठक बहिस्कार गरेका थिए ।
प्रदेश सभाले स्थायी राजधानीबारे केही दिनअघि गरेको निर्णयप्रति असहमति जनाउँदै प्रमुख प्रतिपक्ष काँग्रेसले लगातार पाँच वटा बैठक बहिस्कार गरिसकेको छ ।
बुधबारको प्रदेश सभा बैठकमा अर्को प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा) का प्रदेश सांसदहरू भने उपस्थित थिए ।
प्रदेशको नाम र राजधानी गोदावरी राख्दा प्रक्रिया र पद्धती मिलेन भन्दै असन्तुष्ट बनेको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रक्रिया नसच्याएसम्म संसद बैठक बहिष्कार गरिरहेने चेतावनी दिएको छ ।
प्रदेश सभामा प्रदेशको नाम सुदूरपश्चिम र राजधानी गोदावरी, तेघरी राख्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने प्रक्रिया अघि बढाइएपछि प्रमुख प्रतिपक्षी काँग्रेसले गत शुक्रबार (असोज १२ गते) मतदानमा सहभागी नभएर संसद बैठक बहिष्कार गरेको थियो । प्रमुख प्रतिपक्ष तथा अर्को प्रतिपक्षी राजपाका सांसदहरूले बैठक बहिस्कार गरेपनि सोही दिन प्रदेश सभामा रहेको सत्तापक्षको दुई तिहाई बढी बहुमतबाट राजधानी तथा नामबारेको प्रस्ताव पारित भएको थियो ।
त्यस्तै, गत आइतबार र मंगलबार पनि काँग्रेसले प्रदेश सभा बैठक बहिस्कार गरेको छ । असोज १४ बोलाइएको बैठक काँग्रेसले रोष्टम घेराउ गरेपछि बैठक स्थगित गरिएको थियो । त्यस्तै, असोज १६ गते सहमतिका लागि दुई पटक बैठक सारिँदा पनि बैठक बस्न सकेन । मंगलबारदेखि सभामुखले सहमतिका लागि प्रमुख प्रतिपक्षी, प्रतिपक्ष तथा सत्तापक्षका सांसदहरूसँग छलफल गरे पनि सफल भएको छैन ।
बुधबारको प्रदेश सभा बैठकको शुरुमै बोल्दै प्रमुख प्रतिपक्ष काँग्रेस संसदीय दलका नेता रणबहादुर रावलले प्रतिपक्ष दलको बहिष्कार हुँदाहुँदै पनि सत्तापक्षले दुई तिहाईको आडमा प्रदेशको नाम र राजधानी तोकेर संसदीय मूल्यमान्यताको खिल्ली उडाएको आरोप दोहोर्‍याए ।
बुधबारको प्रदेश सभा बैठकमा सभामुख अर्जुनबहादुर थापाले विषयगत समितिको निर्वाचनको मिति घोषणा गरे । संविधानत: प्रदेश सभामा चारवटा विषयगत समिति रहने व्यवस्था गरिएको छ । विषयगत समितिहरूको निर्वाचन असोज २२ गते हुने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिने संसद सचिवालयले जनाएको छ ।
बुधबारको प्रदेश सभा बैठकको विशेष समयमा भाग लिँदै प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले सुदूरपश्चिम प्रदेश सरकार र संसदलाई अनिर्णयको बन्दी नबनाउन प्रमुख प्रतिपक्ष दललाई आग्रह गरे । मन्त्री सोडारीले संविधानको व्यवस्था अनुसार नै प्रदेश सभाले राजधानी बारे निर्णय गरेको बताए । उनले भने– “प्रदेश सभामा सत्तापक्ष र प्रतिपक्ष एउटै डुंगाका यात्रु भएकाले विरोधका लागि विरोध मात्रै गर्नु उचित हुँदैन ।”

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार