११ श्रावण २०८१, शुक्रबार

प्रहरीको विशेष सुरक्षा योजना लागू



धनगढी । दशैंतिहार र छठ पर्वलाई लक्षित गर्दै कैलाली प्रहरीले जिल्लामा विशेष सुरक्षा योजना तयार पारेको छ ।
बुधबार जिल्ला प्रहरी कार्यालय कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा कैलालीका प्रहरी प्रमुख एसपी विनोद घिमिरेले सुरक्षित यातायात, जुवातास नियन्त्रण तथा अवांछित तथा उछृंखल गतिविधि कडाइका साथ नियन्त्रण गर्न तीन प्रकारको टोली तयार पारिएको जानकारी दिए ।
एसपी घिमिरेका अनुसार धनगढी उपमहानगरपालिका तथा राजमार्ग क्षेत्रमा सादा पोशाकका प्रहरी र प्रहरी मोबाइल गस्ती परिचालन गरिने छ । भने भारतसँग सीमाना जोडिएको भन्सार नाकामा कुकुरसहितको प्रहरी टोली खटाइने छ । त्यस्तै, प्रहरी साइकल गस्ती, मोटरसाइकल गस्ती र मोबाइल गस्ती परिचालन गरिने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
कैलाली प्रहरी प्रमुख घिमिरेले सुरक्षा योजना अन्तर्गत चोरी, ठगी, लुटपाट र यात्रुको सुरक्षामा केन्द्रीत रहेर योजना कार्यान्वन गरिने र सरकारी सम्पतिको सुरक्षा तिहारमा ल्याइने बिष्फोटक पदार्थ र ट्राफिक नियम उल्लंघनका घटनामा निगरानी बढाइने बताए ।
उनले भारतबाट नेपाल फर्किने नेपाली नागरिकलाई सहयोग गर्न हेल्पडेस्क स्थापना गरिएको बताए । एसपी घिमिरेका अनुसार त्रिनगर भन्सार, अत्तरिया बसपार्क र लम्कीमा हेल्पडेस्क स्थापना गरिएको छ ।
उनले चाडबाडमा शान्ति सुरक्षालाई दृष्टिगत गरी प्रहरीको फोन नम्बर १००, १०४ र ५२१०८६ लाई क्रियाशिल बनाइएको बताए ।
प्रहरी सुरक्षा योजनामा ट्राफिक प्रहरीसँगको संयुक्त गस्तीमार्फत मादक पदार्थ सेवन गरी सवारी चलाउने चालक र यात्रीसँग बढी भाडा असुल्ने कार्यको नियन्त्रण गरिने, तथा यात्रीको सूची समेतलाई निगरानी गरी यातायात व्यवस्थित गराइने उल्लेख छ ।
अत्तरियादेखि स्याउले र चिसापानीसम्म टाइमकार्ड राखिएको र यात्रु बाहक बसमा व्यापारिक सामानको कडाई गरिनुका साथै महत्त्वपूर्ण प्रतिष्ठानहरूको सुरक्षा गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार