१२ श्रावण २०८१, शनिबार

गुणस्तरीय प्रारम्भिक कक्षाका लागि अनुदान



धनगढी । राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमले गुणस्तरीय प्रारम्भिक कक्षा लागि विद्यालयहरूलाई अनुदान दिने भएको छ । कैलालीका एक सय ७९ वटा विद्यालयलाई दुई लाख रुपैयाँका दरले अनुदान प्रदान गरिने जनाइएको छ ।
राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत मंगलबार धनगढीमा भएको विद्यालय व्यवस्थापन अनुदान कार्यान्वयन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सो जानकारी गराइएको थियो ।
अभिमुखीकरणमा विद्यालयको विभिन्न शैक्षिक, आर्थिक, भौतिक तथा प्रशासनिक पक्षहरूको व्यवस्थापन गर्न, विद्यालय व्यवस्थापन समितिलाई विद्यालयको शैक्षिक तथा अन्य पक्षहरूको निरन्तर विकासका लागि विद्यालय व्यवस्थापन समितिकै नेतृत्वमा विद्यालयको नियमित कार्यक्रम तथा योजनामा प्रारम्भिक कक्षा पढाई सुधारका क्रियाकलापहरू समावेश गर्न, र प्रारम्भिक कक्षामा विद्यालय प्रशासनको ध्यान तथा लगानी केन्द्रित गरी आधारभूत शिक्षाको दीर्घकालीन विकास गर्ने उद्देश्यले विद्यालय व्यवस्थापन अनुदानको व्यवस्था गरिएको जानकारी गराइएको थियो ।
नेपाल सरकारको नेतृत्व र प्रारम्भिक कक्षा पढाई कार्यक्रमको प्राविधिक सहयोगमा अनुदान रकम प्राप्त गर्ने विद्यालयले छापामय वातावरणको कक्षा कोठा निर्माण, साथीदौतरी शिक्षा तालिम, पढाई महोत्सव, शिक्षक अभिभावक सम्मेलन, पढाई शिविर, र स्थानीय स्तरमा शैक्षिक सामग्रीको निर्माण र प्रयोग गर्ने कार्यमा खर्च गर्नुपर्ने प्रावधान रहेको छ ।
अनुदान रकमबाट विद्यालयमा कक्षा १ देखि ३ सम्म छापामय वातावरण कक्षा कोठा निर्माण गर्ने, शिक्षक अभिभावकहरूको नियमित अन्तरक्रिया गर्ने, पढाई महोत्सव, पढाई शिविर गर्ने, अभिभावकलाई घरमा पढाइ वातावरणलाई प्रवद्र्धन गर्न र नियमित विद्यालय भ्रमण गरी आफ्ना बालबालिकाको सिकाइ उपलब्धि जानकारी हासिल गर्न शिक्षकले विद्यार्थी केन्द्रित शिक्षण सिकाइलाई प्रवद्र्धन गर्ने संस्कृति विकासका लागि सान्दर्भिक औजार प्रयोग गरी अभिभावक अभिभावक बीच र शिक्षक अभिभावकबीच नियमित छलफल गर्ने योजना रहेको नवदुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक हरिचन्द्र चौधरीले बताए ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशी, शिक्षक अभिभावक संघका अध्यक्ष चमरु चौधरी लगायतले अनुदान रकमले कक्षा एकदेखि तीनसम्मका विद्यार्थीहरूको पठन सीपमा सहयोग र गुणस्तरीय शिक्षामा टेवा पुग्ने विचार व्यक्त गरे ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकासिंह कडायतको अध्यक्षतामा भएको थियो ।

उता, धनगढी उपमहानगरपालिका वडा नम्बर १४ को शिवपार्वती विद्यालयमा प्रारम्भिक कक्षा पढाई उपसमिति गठन भएको छ ।
कार्यक्रमलाई विद्यालय तहमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले शिक्षक अभिभावक संघका अध्यक्ष धर्मराज पडालको अध्यक्षतामा नौ सदस्यीय प्रारम्भिक कक्षा पढाई उपसमिति गठन गरिएको छ । समितिको सदस्यमा लक्ष्मीराज ओझा, डम्मर थापा, जयराज जोशी, रत्ना नेपाली, कृत विष्ट, गणेशी चौधरी, कमला फूलारा र धनबहादुर विष्ट रहेका छन् ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष रामबजारी चौधरी, विद्यालयका प्रधानाध्यापक लक्ष्मीराज ओझा, विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष कृष्णा नेपाली, पत्रकार कृतबहादुर विष्ट लगायतले मन्तव्य व्क्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार