१२ श्रावण २०८१, शनिबार

नेपाल एसीसी यू-१९ एसिया कपबाट बाहिरियो



काठमाडौँ । नेपाल एसीसी यू-१९ एसिया कप क्रिकेटबाट बाहिरिएको छ । बंगलादेशमा भइरहेको प्रतियोगितामा अफगानिस्तानले सोमबार नेपाललाई ३ विकेटले पराजित गर्‍यो । ढाकाको बिकेएसपी ३ मैदानमा टस जितेको नेपाली यू-१९ ले १ सय ३१ रनमात्र बनाउन सकेको थियो ।
नेपाली इनिङ्स ३८.३ ओभरमा खुम्चिएको थियो। अफगानिस्तान यू-१९ ले ३७.३ ओभरमा १ सय ३६ रन बनाउदै लक्ष्य पुरा गर्‍यो।
नेपालको यो लगातार दोस्रो हार हो। शनिबार भएको पहिलो खेलमा नेपाललाई दावेदार भारत यू-१९ ले १ सय ७१ रनले पराजित गरेको थियो। भारत र अफगानिस्तान पहिलो दुवै खेल जिती सेमिफाइनल पुगेका छन्। समूह ‘ए’ मा रहेका नेपाल र युएई प्रतियोगिताबाटै बाहिरिएका हुन्।
नेपालबाट रोहितकुमार पौडेलले सर्वाधिक ४६ रन बनाए। उनले ८८ बल खेल्दै ७ चौका प्रहार गरे। रशिद खान ३०, कप्तान आशिफ शेखले २० रन बनाए। नेपालका पाँच खेलाडी शुन्यमा आउट भएका थिए। अफगानिस्तानका अजमातुल्लाह ओमारजाईले ४ विकेट लिए।
आरिफ खानले २३ रनको अविजित इनिङ्स खेल्दै अफगानिस्तानलाई जिताए। कप्तान रहमनुल्लाह गुर्बाजले २६ र ओमाजाईले २३ रन बनाएका थिए। नेपालका सूर्य तामाङले ४ विकेट लिए। उनले ८.३ ओभरमा ३६ रन खर्चेका थिए। पवन सर्राफ, सागर ढकाल र रशिदले १-१ विकेट लिए।
नेपालले मंगलबार युएईसँग समूहचरणको अन्तिम खेल खेल्ने छ।

कान्तिपुर

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार