११ श्रावण २०८१, शुक्रबार

अनिश्चितकालीन बन्दले जनजीवन प्रभावित हुँदै



धनगढी । प्रदेश ७ को स्थायी राजधानी र नामको विषयलाई लिएर आह्वान गरिएको अनिश्चितकालीन बन्दले धनगढीको जनजीवन प्रभावित भएको छ ।
सात नम्बर प्रदेश सभाले शुक्रबार प्रदेशको राजधानी गोदावरी, तेघरी र नाम सुदूरपश्चिम राख्ने प्रस्तावलाई बहुमतले पारित गरेपछि नागरिक संघर्ष समितिले अनिश्चितकालीन बन्दको आह्वान गरेको थियो ।
बन्दका कारण लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन सञ्चालन हुन सकेनन् । धनगढीमा शनिबार विद्युतीय रिक्सा (अटो रिक्सा) समेत चलेनन् । बजार बन्द रह्यो । उद्योग कलकारखाना पूर्णरूपमा बन्द रहे ।
यसैबीच, शनिबार कैलाली उद्योग वाणिज्य संघले बन्द फिर्ता लिने आग्रह सहित आयोजना गरेको सरोकारवालाहरूको बैठक निष्कर्षबिहिन रूपमा टुंगिएको छ । उद्योग सञ्चालनमा कठिनाई भएको भन्दै बन्द नगर्न आग्रह गर्नका लागि संघले छलफल आयोजना गरेको थियो । संघले आज (आइतबार) पनि सरोकारवालाहरूसँग छलफल गर्ने जनाएको छ ।
उता, डोटीको भने जनजीवन सामान्य बन्दै गएको छ । प्रदेशको राजधानी र नामको विषयलाई लिएर शुक्रबार गरिएको डोटी बन्द फिर्ता भएसँगै जनजीवन सामान्य बन्दै गएको छ ।
स्थानीयले सरकारी संरचना तोडफोड गर्न थालेपछि बन्द फिर्ता लिइएको बताइएको छ । शनिबार बिहानैदेखि डोटीमा यातायातका साधन चलेका छन् भने आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भइरहेको उद्योग वाणिज्य संघ डोटीका पूर्व अध्यक्ष नरेन्द्र खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार