१२ श्रावण २०८१, शनिबार

मानव अधिकार नभएको विकास प्राणबिहीन जीवन जस्तै– नेता रावल



टीकापुर । सुदूरपश्चिम प्रदेश सभामा नेपाली काँग्रेस संसदीय दलका नेता रणबहादुर रावलले मानव अधिकार नरहेको विकास प्राण बिनाको जीवन जस्तै हुने बताएका छन् ।
मानव अधिकार सचेतन तथा सामाजिक विकास केन्द्र (हुराड्स) को रजत वर्षोत्सव तथा २५ औं साधारण सभाको शनिबार टीकापुरमा उद्घाटन गर्दै नेता रावलले तीन तहको सरकार गठनपछि सिंहदरबारको अधिकार गाउँमा आएको भनिए पनि अझै सीमान्तकृत तथा पछाडि पारिएको समुदायले सरकारको अनुभूति गर्न नपाएको बताए ।
कार्यक्रममा पूर्वराज्यमन्त्री तथा हुराड्सका संस्थापक मोहनसिंह राठौरले संस्थाले कुनै बेला कमैया प्रथा मानव अधिकारको प्रतिकूल भएकाले उन्मुलन हुनुपर्छ भन्ने धारणा राख्दा केही पक्षबाट आक्रमण भएको स्मरण गरे ।
टीकापुर नगरपालिकाका कार्यवाहक प्रमुख गंगाराम आचार्यले स्थानीय सरकार गैरसरकारी संस्थाहरूसँग मिलेर काम गरिरहेको चर्चा गरे ।
जल उपभोक्ता महासंघ नेपालका प्रदेश इञ्चार्ज दामोदर खड्काले केही गैरसरकारी संस्थाहरू समाजमा विखण्डन तथा पश्चिमा धर्म प्रचारमा लागिरहेको आरोप लगाए ।
साधारण सभामा संस्थाका अध्यक्ष परशुराम महतौंले संस्थाको सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष चन्द्रवति चौधरीले आर्थिक वर्ष २०७४/०७५ को परियोजना तर्फको ६५ लाख ५५ हजार तथा संस्थाको तीन लाख १६ हजार रुपैयाँको वास्तविक आयव्यय र चालू आर्थिक वर्षको ३१ लाख ९४ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष मीनबहादुर शाहीले स्वागत गरेका थिए । सो अवसरमा हुराड्सका पूर्व अध्यक्ष फिरुलाल चौधरी, सल्लाहकार दिलबहादुर चौधरी र सामुदायिक रेडियो टीकापुरका स्टेशन मेनेजर एकिन्द्र तिमिल्सिनाले हुराड्सले संस्थाको जनशक्ति र क्षमता अनुसार मानव अधिकारका विषयमा केन्द्रित भई काम गर्न सुझाव दिए ।
साधारण सभामा संसथाका संस्थापक सल्लाहकार स्वर्गीय चक्र डंगौरा, स्वर्गीय भजनराम चौधरी तथा संस्थाका अध्यक्ष स्वर्गीय भगीरथ चौधरीको स्मरणमा मौनधारण गरिएको थियो ।
यसैबीच, साधारण सभाबाट परशुराम महत्तौंको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
कार्यसमितिको उपाध्यक्षमा मीनबहादुर शाही, सचिवमा सोहनलाल कठरिया, सहसचिव सन्तराम चौधरी र कोषाध्यक्ष चन्द्रवती चौधरी चयन भएका छन् ।
त्यस्तै, सदस्यमा कमला विष्ट, नाथुराम चौधरी, उषा चौधरी, मीना महत्तौं, देशलाल चौधरी र कमलप्रसाद चौधरी चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार