धनगढीलाई व्यवस्थित व्यापारिक शहर बनाउनुपर्छ : मन्त्री सोडारी
अत्तरिया । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारीले धनगढीलाई अझ व्यवस्थित व्यापारिक शहर बनाउनुपर्नेमा जोड दिएका छन् ।
“धनगढी व्यापारिक शहर हो सीमासँग जोडिएकोले त्यहाँ राजधानी उययुक्त थिएन्,” उनले भने, “त्यसैले सीमाभन्दा २४ किलोमिटर टाढा गोदावरी राजधानी बनाएका छौं ।”
उनले धनगढी, गौरीगंगा, कृष्णपुर राजधानी क्षेत्रकै रूपमा जोडिदै जाने बताए । अत्तरियामा आयोजित राजधानी बनाएकोमा धन्यवाद दिइएको कार्यक्रममा मन्त्री सोडारीले भने, “हाम्रो प्रदेशमा महानगर छैन त्यसैले राजधानी गोदावरी र धनगढीलाई जोडेर महानगर बनाउनुपर्छ ।”
क्षेत्रीय स्तरको विमानस्थल र व्यवसायिक क्षेत्र भएको धनगढीको भविष्य सुन्दर रहेको चर्चा गर्दै उनले दिपायलमा पनि क्षेत्रीय कार्यालय, प्रतिष्ठान र तालिम केन्द्रबाट पनि जनताका काम हुने व्यवस्था मिलाउने बताए । उनले दिपायलमा सुदूरपश्चिमको संस्कृति जोगाउन संग्राहलय पनि खोलिने जानकारी दिए ।
जंगल विनास हुनेमा चिन्ता नगर्न आग्रह गर्दै मन्त्री सोडारीले भने, “हामी चुरेभन्दा पाँच सय मिटर तल राजधानी बनाउदैछौं, कुनै पनि हालतमा वन मासिन्न । प्रदेशको राजधानी बनाउने भनेको ठाउँमा बुट्यान मात्रै छ ।”
कार्यक्रम गोदावरी नगरपालिकाले आयोजना गरेको थियो । गोदावरीका मेयर मोहनसिंह साउँदको अध्यक्षतमा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्यहरू अक्कल रावल, कृष्णराज सुवेदी, चुनकुमारी चौधरी लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा मन्त्री सोडारी र प्रदेशसभा सदस्यहरूले दोसल्ला र टोपी लगाएर सम्मान गरिएको थियो ।