१२ श्रावण २०८१, शनिबार

निर्मला हत्याकाण्ड: गृहमन्त्रीले खोले नयाँ रहस्य



काठमाडौं । कञ्चनपुरमा बलत्कारपछि हत्या गरिएकी निर्मला पन्त हत्या प्रकरणमा गृहमन्त्री रामबहादुर थापाले नयाँ रहस्य खोलेका छन् । बुधबार संसदको राज्य व्यवस्था समितिमा बोल्दै थापाले नयाँ रहस्य खोलेका हुन् ।
गृहमन्त्री थापाले राज्य व्यवस्था समितिमा गराएको जानकारी अनुसार प्रहरीले निर्मलाका बुवा यज्ञराजको फर्जी औठाछाप गराएका थिए । निर्मलाको शव गत साउन ११ गते भेटिएको थियो । सोही दिन प्रहरीले उठाएको मुचुल्कामा निर्मलाका बुवाको औठाछाप लगाइएको गृहमन्त्री थापाले बताए । तर, निर्मलाका बुवा भने १२ गतेमात्र भारतबाट फर्किएका थिए । भारतमा रहेको व्यक्तिले कसरी नेपालको कञ्चनपुरमा औठाछाप लगाएको भन्ने बारे भने उनले खुलाएनन् ।
१३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्याको घटनामा स्थानीय प्रहरीले गम्भीर गल्ती गरेको गृहमन्त्री थापाले स्वीकारेका छन् ।
एक महिना लामो अनुसन्धानपछि सरकारले गठन गरेको छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा गृहमन्त्री थापाले घटना भएपछि प्रहरीले प्रमाण मेटाउन कुन हदसम्म काम गर्‍यो भन्दै प्रश्न उठिरहेको अवस्थामा अर्को खुलासा गरेका हुन् ।
गृहमन्त्री थापाले भने– “निर्माला पन्तको ११ गते मुचुल्का उठाइएको छ । जसमा उनका बुवाको औठाछापसमेत छ । तर, उनका बुवा १२ गते मात्र भारतबाट आएका हुन् । निर्मलाले लगाएका लुगासमेत खोलेर जलाइएको भेटियो । अनुसन्धानमा प्रहरीले मनपरी गरेको छ ।”
गृहमन्त्री थापाले सरकारले कञ्चनपुर घटना विवादास्पद बन्दै गएपछि भदौ ७ गते छानबिन गर्न गठन गरेको समितिको प्रतिवेदनका आधारमा थप कारवाही गर्ने बताए । सरकारले कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीको नेतृत्वमा पाँच सदस्य छानविन समिति गठन गरेको थियो । १५ दिनभित्र अनुसन्धान गरेर प्रतिवेदन बुझाउनु भने पनि अनुसन्धान जटिल बन्दै गएपछि अर्को १५ दिन म्याद थप गरिएको थियो । घटना दवाउन प्रहरीले घटनाको मुख्य अभियुक्तका रूपमा २४ वर्षीय दिलिपसिंह विष्टलाई समातेको थियो । उनको डिएनए परीक्षण नमिलेपछि जिल्ला अदालतले रिहाको आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार