१२ श्रावण २०८१, शनिबार

प्रदेशको राजधानी र नाम : आगामी साता टुंगो लाग्दै



धनगढी । प्रदेश सातको नाम र राजधानीबारे आगामी साता टुंगो लाग्ने सम्भावना रहेको छ ।
प्रदेश सभामा नेकपाका प्रमुख सचेतक तारा लामा तामाङका अनुसार प्रदेश सातको नाम र राजधानीको टुंगो लगाउनकै लागि असोज ९ गते मंगलबार प्रदेश सभाको दोस्रो अधिवेशनको ४३ औं बैठक बोलाइएको छ । प्रदेश सचिवालयले आइतबार सूचना प्रकाशित गरेर मंगलबार दिउँसो ३ बजे प्रदेश सभाको बैठक हुने जानकारी दिएको छ ।
मंगलबारको बैठकको कार्यसूची भने तयार भएको छैन । तर पनि सो बैठकमा प्रदेशको नाम र राजधानी बारेको प्रतिवेदन छलफलका लागि पेस हुने सचेतक तामाङले जानकारी दिए ।
प्रमुख सचेतक तामाङ नेतृत्वको विषेश समितिले नाम र राजधानी बारेको सुझाव यसअघि नै प्रदेश सभामुख अर्जुनबहादुर थापालाई बुझाई सकेको छ । सो प्रतिवेदन प्रदेश सभामा पेस हुने र असोज १२ वा १३ गतेभित्र नाम र राजधानीको टुंगो लाग्ने सम्भावना रहेको प्रदेश सभाका कानून अधिकृत तेजप्रकाश जोशीले बताए ।
विशेष समितिले प्रदेशको नाम सूदूरपश्चिम र राजधानी अत्तरिया बनाउनुपर्ने सुझाव दिएको बताइन्छ । राजधानीका लागि लामो समयदेखि आन्दोलनमा रहेका डोटीका बासिन्दाले भने भौगोलिक हिसाबले सात नम्बर प्रदेशको केन्द्रभागमा डोटी भएकाले त्यही नै राजधानी हुनुपर्ने माग गर्दै आएका छन् ।
यता, प्रदेश सरकारका विभिन्न मन्त्रालय, संसद सहितका निकायका लागि भौतिक पूर्वाधारमा करोडौं रकम खर्च भइसकेकोले धनगढीमै राजधानी राख्नुपर्ने बलियो मत रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार