प्लस टुबाट हटाइएका शिक्षकलाई पुनर्बाहाली गर्न माग
धनगढी । माध्यमिक विद्यालय शिक्षक एसोसियशन नेपालले प्लस टुमा अध्यापन गराइरहेका शिक्षकहरुलाई विस्थापित गरिएको भन्दै आपत्ति जनाएको छ ।
दरबन्दी÷अनुदानबाट बञ्चित गरी विस्थापित गरिएका शिक्षकहरुलाई पुनर्वाबहाली नगरिए कडा आन्दोलन गर्ने एसोसियशनका केन्द्रीय उपाध्यक्ष विष्णु दौल्यालले चेतावनी दिएका छन् । उनले लामो समयदेखि अध्यापन गरी रहेका शिक्षकहरुलाई विज्ञापन गर्ने नाममा विस्थापित गरिएको बताए ।
अनुदान कोटाबाट पञ्चोदय मावि धनगढीमा अध्यापन गरिरहेका मदन पुरस्कार विजेता रामलाल जोशी, ग्वाँसी मावि, मालाखेतीमा अध्यापन गरिरहेका हरिशंकर जोशी लगायत बरिष्ठ शिक्षकहरुलाई विस्थापित गरिएको दौल्यालले बताए । उनले शिक्षकहरुलाई विस्थापित गर्ने व्यवस्थापन समितिलाई छानविन गरी कारबाही गर्न माग गरेका छन् ।
उनले चार हजार अनुदानलाई दरबन्दीमा रुपान्तरण गरी थप दरबन्दीमो सृजना गरी आन्तरिक प्रतिस्पर्धाबाट शिक्षक नियुक्त गर्ने कानुनी व्यवस्था नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
देशभर ३० हजार शिक्षकहरु कक्षा ११ र १२ मा कार्यरत रहेकोमा थप २५ हजार शिक्षक सो तहमा आवश्यक रहेको दावी गरेका छन् । उनले ५०० पूर्णांकबाट ७०० पूर्णांकको पाठ्यभार थप गरिएपनि शिक्षक दरबन्दी थप नगरिएको भन्दै आपत्ति जनाएका छन् ।
शिक्षा ऐनले माविमा कक्षा ११ र १२ लाई पनि मिसाएपनि सेवा प्रवेश गरी स्नातकोत्तर उत्तीर्ण गरेका शिक्षकहरु र शिक्षक व्यवस्थापन बारेमा केही नबोलेकोले सो ऐन संसोधन गर्नुपर्ने माग केन्द्रीय उपाध्यक्ष दौल्यालले गरेका छन् ।