१२ श्रावण २०८१, शनिबार

सडक स्तरोन्नतीबारे छलफल



धनगढी । धनगढीदेखि स्याउलेसम्मको सडक खण्डको स्तरोन्नतिबारे शुक्रबार प्रदेश सरकार र स्थानीय तहहरूबीच छलफल भएको छ ।
सात नम्बर प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा भएको छलफलमा मुख्यमन्त्री त्रिलोचन भट्ट, धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड तथा गोदावरी नगरपालिकाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
निकै जीर्ण अवस्थामा रहेको धनगढी–स्याउले सडक खण्डको स्तरोन्नतिका लागि लामो समयदेखि स्थानीयको माग रहँदै आए पनि सुनुवाई हुनसकेको छैन ।
छलफलका क्रममा मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढी–स्याउले सडक खण्डको स्तरोन्नतीका लागि प्रदेश सरकार तथा धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाले समन्वयात्मक ढंगले काम गर्नुपर्ने बताए ।
छलफलपछि धनगढी उपमहानगरपालिका प्रमुख वडले केही दिनभित्रै प्राविधिक अध्ययन गर्ने सहमती भएको बताए । उनले नगरसभा भइसकेकाले सो सडकको स्तरोन्नतिका लागि उपमहानगरपालिका एक्लैले ठूलो लगानी गर्न केही गाह्रो भए पनि प्रदेश सरकार तथा स्थानीय तहको संयुक्त लगानीबाट सो सडक खण्डको तत्काल सुधार गर्न सकिने बताए । सो सडक कालोपत्रे गर्न १० देखि १५ करोड रुपैयाँ खर्च लाग्ने अनुमान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार