११ श्रावण २०८१, शुक्रबार

जनता बन्यो नमुना विद्यालय



धनगढी । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७, रामपुरस्थित जनता आधारभूत विद्यालयलाई शुक्रबार नमुना विद्यालय घोषणा गरिएको छ ।
गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयलाई नमुना विद्यालय बनाउने अभियान अन्तर्गत शुक्रबार आयोजित एक कार्यक्रममा गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले जनता आधारभूत विद्यालयलाई नमुना विद्यालय घोषणा गरे ।
घोषणा कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार चौधरीको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा अध्यक्ष लाजूरामले सामुदायिक विद्यालयहरूमा तालिम प्राप्त शिक्षक र राम्रो भौतिक पूर्वाधार रहे पनि शैक्षिक अवस्थामा सुधार आउन नसकेकोप्रति सबै पक्ष गम्भीर हुन आग्रह गरे ।
उनले सामुदायिक विद्यालयहरूमा बालमैत्री सिकाई, मन्टेश्वरी शिक्षण विधि, खेलकुद लगायत अतिरिक्त क्रियाकलाप आवश्यक रहेको बताए ।
कार्यक्रममा वडा नम्बर ७ का वडाध्यक्ष कमलप्रसाद चौधरीले वडाभित्र रहेका अरू सामुदायिक विद्यालयलाई पनि नमुनायोग्य बनाउन शिक्षक, विद्यार्थी, अभिभावक सबैको सहयोग जरुरी रहेको बताए ।
विद्यालयका प्रधानाध्यापक विनयकान्त पाठकले नमुना विद्यालयको कार्यविधि अनुसार विद्यालयलाई अगाडि बढाउने प्रतिबद्धता जनाएका थिए ।
शिक्षक सेतुराम चौधरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक खुशीराम चौधरीले गरेका थिए । कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष विष्णुप्रसाद चौधरी, तरुण दल कैलालीका अध्यक्ष दीपेन्द्र बम, विद्यार्थी, अभिभावक, राजनीतिक दलका प्रतिनिधि, भलमन्साहरू लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार