६ कार्तिक २०८१, मंगलवार

सरकार नै देश विखण्डनतर्फ– नेता महतो



धनगढी । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सरकार नै देशलाई विखण्डनतर्फ लगिरहेको आरोप लगाएका छन् ।
“मधेशलाई अलग गरेर छुट्टै देश बनाउने राजपाको एजेण्डा होइनु” बिहीबार धनगढीमा पत्रकारसँग कुराकानी गर्दै नेता महतोले भने– “तर, वर्तमान सरकार आफै विखण्डन तर्फ धकेलिरहेको छ ।” उनले राजपाले शक्तिशाली प्रदेश बनाउनुपर्ने माग राखेको बताए ।
उनले अहिलेको संघीयता अर्थहिन भएको बताए । उनले उत्पीडनमा परेका वर्गहरूको अधिकार प्रदेशबाटै प्राप्त हुने गरी शक्तिशालि प्रदेश बनाउन सुझाव दिँदा सरकारले प्रदेशका थारू तथा मधेशीहरूलाई नै टुक्रा–टुक्रा गरिदिएको आरोप लगाए ।
उनले संविधानमा उत्पीडनमा परेका वर्गहरूको अधिकार नभएकाले संविधान संशोधन गर्न आग्रह गरे । उनले सरकारले माग पुरा नगरे आन्दोलनमा जाने चेतावनी दिए ।
सरकारले थारू तथा मधेसीमाथि लगाइएका मुद्दा फिर्ता गर्ने, टीकापुर घटनाको आरोपमा पक्राउ परेकालाई रिहा गर्ने, कैलाली–१ बाट विजयी रेशमलाल चौधरीलाई प्रमाणपत्र दिँदै सपथ खुवाउने आश्वासन दिएका कारण सरकारलाई समर्थन गरेको भए पनि माग पुरा नभएको गुनासो गरे । उनले राजपा पर्ख र हेरका अवस्थामा रहेको बताए ।
उनले “निर्मला हत्याकाण्डमा सरकारले आयोगमाथि आयोग मात्रै बनाउने काम गरेको” बताए । उनले भने– “प्रहरी प्रशासनबाटै प्रमाण नष्ट गर्ने काम भएका छन् । अपराधीलाई कारवाही गर्न नसक्ने अनि कसरी जनताले सुरक्षाको महशुस गर्छन् ?”
उनले प्रहरीको दमन सहन लोकतन्त्र नआएको बताए । भने– “राम मनोहर यादवले कालो झण्डा देखाउँदैमा पक्राउ गरिन्छ । पक्राउ गरेपछि हत्या हुन्छ । यो के प्रहरीको दमन होइन् ?”
पत्रकार सम्मेलनमा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य अनिल झाको पनि सहभागिता रहेको थियो । कार्यकता भेटघाटमा प्रदेश ७ आएका नेताहरूले कैलाली कञ्चनपुरमा कार्यकर्ता भेटघाट कार्यक्रम राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार