१२ श्रावण २०८१, शनिबार

चोरीकै लागि जैशीको हत्याः प्रहरी



धनगढी । कैलालीको जोशीपुरका व्यापारी रामप्रसाद ओझा (जैशी) को हत्या गरेको अभियोगमा प्रहरीले तीन जना प्रक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयले व्यापारी जैशीको हत्या गरेको अभियोगमा जोशीपुरकै दुई जना र टीकापुरका एक जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो । जोशीपुर गाउँपालिका १ का ४१ वर्षीय गंगाराम चौधरी र सोही ठाउँका ३८ वर्षीय राजकुमार चौधरी हत्यामा प्रत्यक्ष संलग्न रहेको प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले बताए । उनले टीकापुर नगरपालिका ३ घर भई गोदावरी ८ मा व्यापार गरिरहेका ३५ वर्षीय डम्बर चौधरीले उनीहरुलाई सहयोग गरेको बताए ।
जिल्ला प्रहरीले तीनै जनालाई अनुसन्धानका लागि अदालतबाट म्याद लिई थुनामा राखेको छ । उनीहरुलाई बुधबार नै पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक वलीले बताए । गंगारामलाई उनके घरबाट, राजकुमारलाई धनगढी २ मा पर्ने नेपाल भारत सीमा नजीकबाट र डम्बरलाई गोदावरी ८ बाट पक्राउ परेको विज्ञप्तिमा जनाइएको छ ।
पक्राउ परेका उनीहरुबाट प्रहरीले ओझाले प्रयोग गर्ने मोबाइल, सात हजार एक सय १० भारतीय रुपैयाँ र २२ वटा १०० रुपैयाँको एनसेल रिचार्ज कार्ड बरामद गरेको जनाएको छ । प्रहरी नायव उपरीक्षक चोरी गर्नकै लागि ओझाको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाए । उनले गंगारामको योजनामा गंगाराम र राजकुमारले घरमा सुतिरेका जैशीको घाँटी टारले कसेर हत्या गरेको बताए ।
जोशीपुर गाउँपालिका १ का ३८ वर्षीय जैशी गत भदौ २९ गते बिहान घरभित्रै विस्तरामा मृत भेटिएका छन् । मृतकको घाँटीमा डोरी जस्तो वस्तुको छापा देखिएकोले हत्या गरिएको हुन सक्ने आशंका गरी प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।
मृतक जैशी जोशीपुर बजारमा रहेको आफ्नै घरमा किराना व्यापार गर्दै आएका थिए । उनकी श्रीमती तीज मनाउन टीकापुरस्थित माइती घरमा बालबच्चा सहित गएको बताइएको छ । उनका दुई छोरा र एक छोरी छन् ।
हत्यामा संलग्नलाई मुलुकी फौजदारी संहिता ऐन २०७४ अनुसार जन्म कैद सजाए हुन सक्ने प्रहरी नायव उपरीक्षक वलीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार