“असन्तुष्टिहरूको सम्बोधन गर्नुपर्छ” थारू नेताहरू
कैलारी । कैलालीका थारू नेताहरूले नेपालको संविधान, २०७२ मा केही पक्षका असन्तुष्टिहरूलाई तत्काल सम्बोधन गर्नुपर्ने दोहोराएका छन् ।
संविधान दिवसको अवसरमा कैलालीको कैलारी गाउँपालिकाले बुधवार हसुलियामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेताहरूले जनताको ठूलो बलिदानबाट आएको नेपालको नयाँ संविधानको पूर्ण कार्यान्वयनका लागि असन्तुष्ट पक्षहरूका आवाजको सम्बोधन हुनुपर्ने बताए ।
कार्यक्रममा प्रदेश सांसद वीरमान चौधरीले भने– “वर्तमान संविधानप्रति असन्तुष्टिका स्वरहरू पनि सुनिने गरेका छन् । त्यसैले असन्तुष्ट पक्षहरूका मागलाई सम्बोधन गर्दै संविधानलाई सार्थक बनाउनु पर्दछ ।”
कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले नेताहरूले विश्वकै उत्कृष्ट संविधान भएको दावी गरे पनि थारू, मधेसी समुदाय लगायतको असन्तुष्टि कायमै रहेको बताए । उनले भने–“जनताको ठूलो बलिदानबाट प्राप्त नयाँ संविधानले सिंहदरवारको अधिकार गाउँसम्म पुर्याएको छ । तर, संविधानका प्रति यथावत रहेका असन्तुष्टिहरूको सम्बोधन आवश्यक छ ।” कार्यक्रममा नेपाली काँग्रेसका नेता राजसमझ चौधरीले संविधान परिवर्तनशील रहेकाले अहिले विरोधभन्दा पनि संविधानको कार्यान्वयनतर्फ ध्यान दिनु पर्ने बताए । “यो संविधान अकाट्य होइन्,” उनले भने– “संविधान कार्यान्वयनसंगै देखिएका असन्तुष्टिलाई क्रमश: सम्बोधन गर्दै जानु पर्दछ ।”
नेपाली काँग्रेसकै अर्का नेता खेमराज चौधरीले राम्रो र हाम्रो संविधान बनाउनका लागि असन्तुष्ट पक्षको मागलाई सम्बोधन गर्दै जानुपर्ने बताए ।
कार्यक्रममा कैलारी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौंवा, नेता परशुराम चौधरी लगायतको उपस्थिति रहेको थियो ।
यसअघि, उक्त गाउँपालिकाको आयोजनामा हसुलिया बजारमा प्रभातफेरी गरिएको थियो । प्रभातफेरीमा विभिन्न विद्यालयका विद्यार्थी, सरकारी कार्यालयका कर्मचारी, विभिन्न संघ संस्था, सहकारीका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।
यसैबीच, संविधान दिवसको अवसरमा कैलारी गाउँपालिका वडा नम्बर ७ कार्यालयको आयोजनामा वसन्तामा ४० वर्षभन्दामाथिका खेलाडीको पेनाल्टी शूटआउट कार्यक्रम भएको छ । त्यस्तै, वडा नम्बर २ ले चियापायन कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाएको छ ।