११ श्रावण २०८१, शुक्रबार

राष्ट्रिय परिवार नियोजन दिवस मनाइयो



धनगढी । पाँचौ राष्ट्रिय परिवार नियोजन दिवस २०७५ कैलालीमा विविध कार्यक्रम गरी मनाइएको छ ।
‘किशोरकिशोरीको सहभागिता, परिवार नियोजन सेवाको सुनिश्चतता’ भन्ने नाराका साथ कैलाली जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजनामा किशोरकिशोरीसँग अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।
सो अवसरमा क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले परिवार नियोजन लगायत मातृ तथा बाल स्वास्थ्यमा सरकारको लगानी धेरै भएपनि उपलब्धी हुन नसकेको बताए । उनले प्रदेश ७ मा बाल तथा मातृ मृत्युदर, क्षयरोग, कुष्ठरोग, कुपोषण लगायतका दर उच्च रहेको बताए ।
“प्रदेशको स्वास्थ्य क्षेत्रको सुधार गर्न जरुरी छ । यसका लागि एक्लै लागेर हुँदैन सबै मिलेर जानुपर्छ” डाक्टर अवस्थीले भने, “प्रदेश स्वास्थ्य क्षेत्रको सुधारका लागि आवश्यक पर्ने नीति कार्यक्रम बनाउन सबैले सहयोग गर्न जरुरी छ ।” उनले परिवार नियोजनका साधन प्रयोगकर्ता बृद्धि गर्न समुदाय स्तरमा शिक्षा फैलाउन जरुरी रहेको बताए । “अहिले ९० प्रतिशत शिक्षक शिक्षिकाले विद्यालयमा प्रजनन स्वास्थ्य शिक्षाबारे विद्यार्थीहरूलाई पढाउँदैनन्” उनले भने, “विद्यालय शिक्षामा सुधार गर्न जरुरी छ ।”
कार्यक्रममा नेपाल परिवार नियोजन संघ कैलालीका अध्यक्ष सुरेन्द्र बमले परिवार नियोजनका साधन प्रयोग गराउन समुदाय स्तरमा जनचेतना फैलाउन जरुरी रहेको बताए ।
कार्यक्रममा सहभागी किशोरकिशोरीहरूले शिक्षाका पहुँच नभएका क्षेत्रमा प्रजनन स्वास्थ्य सम्बन्धी शिविर गर्नुपर्ने, किशोरकिशोरीलाई मात्र नभई अभिभावकलाई पनि प्रजनन स्वास्थ्यबारे शिक्षा दिनुपर्ने सुझाव दिएका थिए ।
कैलाली जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा परिवार नियोजन सुपरभाइजर सूर्य विष्टले परिवार नियोजनको परिचय र फाइदा, परिवार नियोजनको वर्तमान अवस्था र लक्ष्य (किशोकिशोरीको अवस्था र लक्ष्य), परिवार नियोजन कार्यक्रम सम्बन्धि उपलब्धि, परिवार नियोजन कार्यक्रम सम्बन्धि नीति तथा रणनीति, समस्या तथा चुनौतिहरूबारे प्रस्तुतिकरण गरेका थिए ।
कार्यक्रममा विभिन्न क्याम्पसका विद्यार्थी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार