११ श्रावण २०८१, शुक्रबार

तारालाई नबाँध्न नगर प्रमुखको अनुरोध : उपचारको जिम्मा नगरपालिकाले लिने



धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ६, बाहुनपुरकी १९ वर्षीया तारा जैशीको उपचार लम्कीचुहा नगरपालिकाले गर्ने जिम्मा लिएको छ ।
सोमबार ‘दुई वर्षदेखि बाख्राको खोरमा’ भन्ने शीर्षकमा समाचार प्रकाशित भएपछि मंगलबार लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाई जैशीको घरमै भेटन पुगेका थिए । भेटका क्रममा नगर प्रमुख बजगाईले जैशीलाई तत्काल उपचारका लागि नेपालगञ्ज पठाउने र उपचार खर्चको जिम्मा लम्की नगरपालिकाले व्यहोर्ने बताए ।
यस्तै, नगरपालिकाले जैशीलाई मासिक खर्च, लुगा कपडाको व्यवस्था पनि गर्ने बताए । नगर प्रमुख बजगाइले ग्रामीण विद्युत सहकारीसँग छलफल गरी जैशीको घरमा जडान भएको विद्युत महशुल नि:शुल्क गर्न पनि आग्रह गरेका थिए ।
नगर प्रमुख बजगाईले ताराकी आमा सुर्जकलालाई घरमै छोरीको हेरचाह गर्न र नबाँधेर राख्न पनि अनुरोध गरे । “तपाईलाई घरमै आयआर्जन गर्ने वातावरण बनाइन्छ । तपाई छोरीको ख्याल गर्नुहोस्” नगर प्रमुख बजगाईले आमा सर्जुकलासँग अनुरोध गरे ।
मानसिक रूपमा निकै अस्वस्थ तारालाई बाध्य भएर आमा दिनभरी बाख्राको खोरमा बाँधेर राख्नु परेको थियो । उनकी आमा सुर्जकलाका अनुसार ताराले घरबाट भाग्ने, शरीरको कपडा च्यात्ने, जथाभावी सामान फ्याक्ने गर्छिन् । आर्थिक अवस्था निकै कमजोर भएकी सुर्जकलाको परिवारका सदस्य दिउसो मजदूरी गर्न वा वनबाट दाउरा ल्याएर बेच्न जानुपर्ने भएकाले तारालाई बाँधेर दिनभरी बाख्राको खोरमा राख्नु परेको सुर्जकलाले बताइन् ।

सम्बन्धित समाचार

दुई वर्षदेखि बाख्राको खोरमा

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार