१२ श्रावण २०८१, शनिबार

बीआइएम र बीएचएम कार्यक्रमबारे अन्तरक्रिया



धनगढी । सुदूरपश्चिमाञ्चल क्याम्पस (एसपीए) ले शुरु गरेको स्नातक तहको सूचना व्यवस्थापन (बीआइएम) तथा होटल म्यानेजमेन्ट (बीएचएम) कार्यक्रमबारे शनिबार धनगढीमा अन्तरक्रिया कार्यक्रम भएको छ ।
सात नम्बर प्रदेशमा पहिलो पटक त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा यसै शैक्षिक सत्रबाट शुरु गरिएको बीआइएम र बीएचएम संकायमा अध्ययनरत विद्यार्थी र विषय विशेषज्ञहरूबीच अन्तरक्रिया भएको थियो ।
कार्यक्रम एसपीएका अध्यक्ष योगेन्द्रबहादुर शाहीको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा विषय विशेषज्ञ रूपेश श्रेष्ठ र मनोज पन्तले बीएचएम तथा बीआइएम कार्यक्रमबारे जानकारी दिएका थिए ।
कार्यक्रममा त्रिभूवन विश्वविद्यालय, व्यवस्थापन संकायका पूर्व डिन ध्रुव पोख्रेलले यी विषय अध्ययन गर्ने विद्यार्थी बेरोजगार बस्न नपर्ने विश्वास व्यक्त गरे । उनले विद्यार्थीलाई पढ्न इच्छा जाग्ने वातावरण निर्माण गर्न क्याम्पससँग आग्रह गरे ।
“विद्यार्थीहरू किताब पढ्छन्, शिक्षकले समाज पढाउनुपर्छ” शिक्षाविद् पोख्रेलले भने– “समाज पढाउने शिक्षकका विद्यार्थी कहिल्यै पनि असफल भएका छैनन् ।” उनले समाज बुझेका विद्यार्थीहरू व्यावसायिक बन्ने गरेको उदाहरण आफूले देखेको बताए ।
उनले शिक्षकहरूसँग आग्रह गरे– “विद्यार्थीहरूलाई जागिर खोज्ने निवेदन लेख्न नसिकाउनुहोस्, व्यवसाय गर्ने शिक्षा प्रदान गर्नुहोस् ।” उनले व्यवस्थापन संकाय पढ्ने विद्यार्थी उद्यमशील बन्ने बताए ।
कार्यक्रममा क्याम्पस प्रमुख पुष्पराज जोशी, क्याम्पसका निर्देशक सुवाश शाही लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
बीआइएम व्यवस्थापन र कम्प्युटर शिक्षाको संयुक्त विषय हो । यस विषयमा ४० प्रतिशत व्यवस्थापन र ६० प्रतिशत कम्प्युटर सफटवेयरको अध्ययन हुने जनाइएको छ ।
त्यस्तै, बीएचएम (होटल म्यानेजमेन्ट) अध्ययनपछि सिधैं रोजगार पाउने प्रयोगात्मक विषयका रूपमा लिइन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार