१२ श्रावण २०८१, शनिबार

शंकास्पद अवस्थामा महिलाको शव बरामद



धनगढी । कैलालीको गोदावरी नगरपालिकाको मालाखेतीमा झ्यालमा झुण्डिएको अवस्थामा एक महिलाको शुक्रबार राति शव फेला परेको छ ।
प्रहरीका अनुसार गोदावरी नगरपालिका वडा नम्वर १० की २४ वर्षीया तुल्सी फुलाराको शुक्रबार राति झ्यालमा झुण्डिएको अवस्थामा शव फेला परेको छ ।
तुल्सीको आधा शरीर सुत्ने विस्तारामा रहेको र उनको शरीरका केही भागमा निलडाम रहेको बताइन्छ । उनको माइती पक्षले तुल्सीको हत्या भएको आरोप लगाएका छन् ।
तुल्सीका दाइ प्रभाश भट्टले आधा शरीर सुत्ने विस्तरामा रहेको अवस्थामा आत्महत्या हुन नसक्ने दावी गरे । प्रभाशका अनुसार तुल्सीका श्रीमान प्रशान्तले उनीमाथि पटक–पटक कुटपिट गर्ने तथा यातना दिने गरेका थिए । केही समयअघि प्रशान्तले अबदेखि श्रीमतीलाई कुटपिट तथा यातना नदिने भन्दै परिवारका सदस्य तथा छरछिमेकसामु वाचा गरेका थिए ।
प्रशान्त र तुल्सीबीच डेढ वर्ष अघि मागी विहे भएको थियो ।
तुल्सीका माइती पक्षले प्रशान्त विरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दर्ता गराएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाको अनुसन्धान अघि बढाइएको जनाएको छ ।
उता, कञ्चनपुरमा तरकारी व्यापार गर्दै आएकी करिब ६० वर्षीया आइती सार्कीको शनिबार शव फेला परेको छ ।
शनिबार बिहान भीमदत नगरपालिकास्थित नहरमा उनको शव भेटिएको जनाइएको छ । स्थानीयले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । दैलेख घर भएकी उनी तरकारी व्यापार गर्दै आएकी थिइन् । घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार