११ श्रावण २०८१, शुक्रबार

विविध कार्यक्रमसहित बाल दिवस मनाइयो



धनगढी । ‘सुखी नेपाली, समृद्धि नेपाल : बाल अधिकार, सबैको सरोकार’ भन्ने नारासहित शुक्रबार विभिन्न कार्यक्रमसहित देशभरी राष्ट्रिय बाल दिवस मनाइएको छ ।
दिवसको अवसरमा मुल समारोह समितिको आयोजनामा धनगढीमा ‘बालअधिकार र नेपालमा बाल अधिकार सुनिश्चितताका लागि भएका प्रयासहरू’ विषयक अन्तरक्रिया भएको थियो ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले धनगढीे नगरलाई बालमैत्री बनाउन पहल गरिरहेको जानकारी दिए । उनले बालमैत्री नगर बनाउन अभिभावक, शिक्षक, नाागरिक अगुवा सहित सबै सरोकारवालाहरूको साथ र सहयोगका लागि आग्रह गरे ।
उनले नगरभित्र निर्माण हुने विद्यालय, खानेपानी, शौचालय, भवन आदि बालमैत्री बनाइने बताए ।
कैलालीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला वालकल्याण समितिका संयोजक बाबुराम श्रेष्ठले नेपालको संविधानमा बालअधिकार सुनिश्चित गरिएको चर्चा गरे ।
सो अवसरमा निबन्ध तथा वक्तृत्वकला प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको थियो ।
निबन्ध प्रतियोगितामा पञ्चोदय उच्च माध्यामिक विद्यालयका लक्ष्मी ढुंगाना प्रथम, त्रिनगर उमाविका पप्पुराम लुहार द्वितीय तथा बेहडाबाबा माध्यामिक विद्यालयका अनिता चौधरी तृतीय र त्रिभुवन माविका भुवनप्रसाद अवस्थी चौथो भएका थिए ।
त्यस्तै, वक्तृत्वकला प्रतियोगितामा पञ्चोदय उमाविका विजयराज जोशी प्रथम, बेहडाबाबा माविका ओमप्रकाश भट्ट द्वितीय, राष्ट्रिय माविका सुदीप भट्ट तृतीय र धनगढी माविका दीनेश भट्ट चौथो भएका थिए ।
विजेतालाई क्रमश: तीन हजार, दुई हजार, एक हजार पाँच सय र एक हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।
बाल दिवसका अवसरमै प्रदेश नम्बर ७ को सामाजिक विकास मन्त्रालयले धनगढीमा रहेको आमाको माया छात्रबासलाई शैक्षिक सामग्री सहयोग गरेको छ । सामाजिक विकास मन्त्री दिर्घबहादुर सोडारीले सो छात्रवासलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए ।
त्यस्तै विशाल सिर्जनशील बाल क्लवले पनि आमाको माया छात्रावासलाई खाद्यान्न सहयोग गरेको छ ।
क्लवका अध्यक्ष प्रविन चन्द लगायतले संकलन गरेको खाद्यान्न त्रिभुवन माध्यामिक विद्यालयका शिक्षक नवराज ओझाले आमाको माया छात्रावासलाई हस्तान्तरण गरे ।
बाल दिवसकै अवसरमा जिल्ला समन्वय समिति कैलालीका प्रमुख सुर्यबहादुर थापाले १६ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका छन् ।
शुक्रबार लम्कीचुहा नगरपालिका वडा नम्बर ४ कौवापुरमा महिला विकास सञ्जाल र बालकल्याण संघले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख थापाले वडा नम्बर २ र ४ का १६ जना बालबालिकालाई वार्षिक शुल्क, स्टेसनरी, जुत्ता, झोला लगायतका सामग्री वितरण गरेका थिए ।
बाल दिवसकै अवसरमा कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ सुखडमा शुक्रबार हाजिरीजवाफ, चित्रकला र वक्तृत्वकला प्रतियोगिता भएका छन् ।
घोडाघोडी नगरस्तरीय बाल सञ्जालको आयोजनामा भएको कार्यक्रममा अन्तर्गत हाजिरीजवाफ प्रतियोगितामा कमल बम मेमोरीयल पहलमानपुर प्रथम, कान्ति मावि पहलमानपुर द्वितीय र चिल्डेन गार्डेन तृतीय भए ।
त्यस्तै, वक्तृत्वकला प्रतियोगितामा ज्ञानज्योति विद्या मन्दिर प्रथम, कान्ति मावि द्वितीय र दशरथ मावि साडेपानी तृतीय भए ।
त्यस्तै चित्रकलामा पायोनियर मावि पहलमानपुर प्रथम, राष्ट्रिय मावि सुखड द्वितीय र दशरथ मावि साडेपानी तृतीय भए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार