३१ बैशाख २०८१, सोमबार

हरितालिका तीज : ब्रतउपासनादेखि न्यायको मागसहित मनाइयो



धनगढी । हिन्दू धर्मावलम्बी महिलाको सबैभन्दा महान धार्मिक चाड हरितालिका (तीज) बुधबार परम्परागत ब्रतउपासना, पूजापाठ, भजनकिर्तन, नाचगानदेखि न्यायको मागसहित मनाइएको छ ।
भाद्र शुल्क तृतीयाका दिन मनाइने हरितालिका तीजमा महिलाहरू दिनभरी निर्जला ब्रत बसेर भगवान शिव तथा पार्वतीको पूजाआजा, भजनकिर्तन गर्ने गर्दछन् । बुधबार धनगढीमा पनि शिवपुरीधाम, पशुपतिनाथ मन्दिर, शिवमन्दिर लगयातका मठमन्दिरमा बिहानैदेखि ब्रतालु महिलाको घुइचो लागेको थियो ।
हिमालयकी पुत्री पार्वतीले बाल्यकालदेखि महादेव स्वामी पाऊँ भनी कामना गरिरहेको भए पनि उनका पिता हिमालयले भगवान् बिष्णुलाई कन्यादान दिने तयारी गरेको थाहा पाएपछि सखीहरूले पार्वतीलाई कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले महादेव स्वामी पाऊ भनी निर्जला व्रत बसेको पौराणिक विश्वासका आधारमा हरितालिका तीज ब्रतको प्रचलन शुरु भएको बताइन्छ ।
हिन्दू नारीहरूको महान् धार्मिक पर्वका रूपमा लिइने हरितालिका व्रतमा पतिको लामो आयुको कामना गरी निराहार व्रत बसेर रातभर आफनो अटल सौभाग्यको प्रतीकस्वरूप दियो, कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्ण पात्र गरेर व्रत समापन गर्ने धार्मिक विधि रहेको छ ।
उता, कञ्चनपुरमा भने थुप्रै महिलाले कालो सारी लगाएर तीज मनाएका छन् । बालिका निर्मला पन्तको बलात्कार तथा हत्या सहित महिलामाथि भइरहेको हिंसा, बलात्कार तथा हत्याका विरुद्ध आवाज उठाउन उनीहरूले कालो सारी लगाएर तीज मनाए । त्यस्तै, कैलाली तथा कञ्चनपुरका दर्जनौ स्थानमा बलात्कार, हत्या, महिला हिंसा विरुद्धका गीतसहित नाचगान गरियो ।
निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारवाहीको माग र बलात्कारीलाई फासीको माग गर्दै कञ्चनपुरका महिलाहरूले तीज मनाएका थिए ।
हेलेन श्रेष्ठको नेतृत्वमा निर्मला पन्तका बलात्कारीलाई सार्वजनिक गर, बलात्कारीलाई फासीको सजायका लागि संविधान संशाधेन गर, आदि व्यानर सहित महिलाहरूले कालो सारीमा महेन्द्रनगर बजारको चौकमा जम्मा भएर तीज मनाएका थिए ।
महेन्द्रनगर बजारको मदनचोकमा भेला भएका महिलाहरूले यसअघि गौरापर्व पनि यस्तै किसिमले मनाएका थिए ।

धनगढीमा तीज महोत्सव
धनगढी । हिन्दू महिलाको महान धार्मिक चाड तीजका अवसरमा बुधबार धनगढीमा तीज महोत्सव, २०७५ भएको छ । नमोबुद्ध युवा क्लवको आयोजनामा भएको महोत्सवको धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले उद्घाटन गरे ।
सो अवसरमा नगर प्रमुख वडले तीजले सामाजिक तथा सांस्कृतिक विकृति, बिसंगति विरुद्ध समाजमा सन्देश फैलाउन सक्नुपर्ने बताए ।
कार्यक्रममा उपमहानगरका उपप्रमुख सुशीला मिश्र भट्टले तीजलाई महिला सशक्तिकरणको पर्वका रुपमा मनाउन आग्रह गरिन् ।
त्यसैगरी धनगढी–१४ मा उपमहानगरपालिकाको सहयोग तथा कुटोकोदालो आधुनिक सहकारी संस्थाको आयोजनामा तीज मिलन कार्यक्रम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार