३० बैशाख २०८१, आईतवार

मोटरसाइकल चोरी गिरोह पक्राउ



टीकापुर । इलाका प्रहरी कार्यालय टीकापुरले मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार टीकापुरमा पछिल्लो पटक चोरी भएका ६ वटा मोटरसाइकलसहित चोरीमा संलग्न दुई तथा चोरीका मोटरसाइकल किन्ने चारसहित ६ जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ ।
प्रहरीले बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ बाट मंगलबार उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
पत्रकार सम्मेलनमा डिएसपी सिंहले मोटरसाइकल चोरीमा संलग्न रहेका भजनी नगरपालिका–८, खैलाडका १९ वर्षीय सागर चौधरी र बर्दगोरिया गाउँपालिका–४, नौनियाका १८ वर्षीय रोहित चौधरीलाई सार्वजनिक गरियो ।
त्यस्तै, चोरीका मोटरसाइकल खरिद गर्ने नौनियाकै २१ वर्षीय रमेश चौधरी, २३ वर्षीय साहिल चौधरी, २५ वर्षीय सरोज चौधरी र २८ वर्षीय ताराराज थारूलाई पक्राउ गरी मुद्दा चलाइएको छ ।
टीकापुर क्षेत्रबाट मोटरसाइकल चोरेर सागर र रोहितले गाउँ र कमैया शिविरमा १० देखि १५ हजार रुपैयाँमा बेच्ने गरेको प्रहरीले जनाएको छ ।
सागर टीकापुरस्थित वीरेन्द्र विद्यामन्दिर माध्यमिक विद्यालय टीकापुरमा कक्षा ११ र रोहित टीकापुर बहुमुखी क्याम्पसमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी रहेको बताइएको छ ।
प्रहरीले उनीहरूबाट जोशीपुर गाउँपालिका–४ का जयराज चौधरीको से ४ प ४४६१, जानकी गाउँपालिका–८ का धनसिंह चौधरीको से ६ प १९०४, इलाका प्रशासन कार्यालय टीकापुरका नायब सुब्बा भानुभक्त जोशीको से १ प ५ ४८९०, विष्ट आयल स्टोर टीकापुरमा कार्यरत चन्द्रबहादुर चौधरीको से ५ प ३९७३ र टीकापुर नगरपालिका–१ ब्लक नम्बर ३० का योगेन्द्र बमको से ५ प १८२४ र अर्को नम्बर नखुलेको मोटसाइकलसमेत बरामद गरेको छ ।
उनीहरूलाई बुधबार मुद्दा दर्ता गरी अनुसन्धानका लागि म्याद थप्न जिल्ला अदालत कैलालीमा लगिएको जनाइएको छ ।
टीकापुर प्रहरीले विभिन्न स्थानबाट १४ मोटरसाइकल चोरी भएका मध्ये ११ मोटरसाइकल बरामद गरेको छ भने थप तीन मोटरसाइकलका विषयमा अनुसन्धान र खोजी कार्य जारी रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार